काठमाडौं : मेलम्ची खानेपानी यही मंसिरभित्र काठमाडौँ उपत्यकामा आउने भएको छ। मेलम्ची खानेपानी विकास समितिले अहिले तीव्र रूपमा खानेपानी मुहानको माटो र ढुंगा पन्छाउने काम भइरहेको जनाएको छ।
विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार अब बाढीले ल्याएको मुहानको माटो, ढुंगा हटाउने र पानी छिर्ने गेटको मर्मत गर्न बाँकी छ। ‘मुहानमा सफा गर्ने काम भइरहेको छ, अब त्यहाँ छिट्टै काम सकिन्छ। यो मंसिरभित्रमा त्यहाँको पानी काठमाडौं आउँछ’‚ उनले थाहाखबरसँग भने।
वर्षायाममा बन्द गरिएको मेलम्चीको मुहानमा कात्तिक ३० गतेदेखि माटो र ढुंगा पन्छाउने काम थालिएको थियो। ६ वटा एक्स्काभेटर र ६ वटा टिपर लगाएर लगातार काम भइरहेको विकास समितिले जनाएको छ।
६ महिनादेखि आएन पानी
मेलम्ची खानेपानी आयोजना शुरु भएको दुई दशकपछि काठमाडौं उपत्यकाभित्र पहिलोपटक २०७७ चैत १५ गते वितरण थालिएको थियो। पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गरिएको थियो।
तर ०७८ सालको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। क्षति भएको ९ महिनापछि अर्थात् गत वैशाख ११ गते अस्थायी रूपमा पानी पुनः ल्याइएको थियो तर शहरवासीले एक महिना पूरा पनि पिउन पाएनन्।
पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै वर्षात् शुरु भएसँगै सरकारले गत जेठ १७ गतेबाट उपत्यकामा ल्याउन बन्द गरेको थियो। त्यसपछि अहिलेसम्म ६ महिना बित्दा पनि पानी आएको छैन।
पानीको हाहाकार खेप्दै शहरवासी
सरकारले अझै दीर्घकालीन रूपमा मेलम्ची खानेपानी उपत्यकामा ल्याउन सकेको छैन। बाढीले क्षति पुगेपछि खानेपानी मन्त्रालय र विकास समितिले स्थायी रूपमा पानी ल्याउन पहिरोबारे राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरू लगेर अध्ययन गरेकाे थियाे।
त्यसको हालसम्म अध्ययन प्रतिवेदन सार्वजनिक भएको छैन। शहरवासीले भने पानीको हाहाकार खेप्दै आएका छन्। उनीहरू पिउनका लागि जारको पानी र घरायसी प्रयोजनका लागि ट्यांकरको पानी खरिद गर्न बाध्य छन्।
उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले भने, ‘अहिलेसम्म पनि मेलम्चीको पानी ल्याउन सरकारले पहल नगर्दा राजधानीवासी काकाकुल हुने अवस्था आएको छ।’ काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।