|

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखर रूपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन। पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका दशजना निर्वाचित भएका छन्।

राष्ट्रिय युवापरिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ। नेपालको जनसंख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कुल जनसंख्याको ४०.३५ प्रतिशत रहेको छ।

त्यस्तै ७० वर्ष कटेका १४ जना निर्वाचित भएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। साथै सबैभन्दा बढी ४० देखि ७० वर्ष उमेर समूहमा १३८ जना निर्वाचित भएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्षका १६५ निर्वाचन क्षेत्रमध्ये शुक्रबारसम्म १६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ।

प्राप्त मतपरिणामअनुसार ४० वर्षमुनिको उमेर समूहबाट नेपाली कांग्रेसका मुस्ताङबाट २९ वर्षका योगेश गौचन थकाली, नेकपा (एमाले)की बारा–२ बाट ४० वर्षीया ज्वालाकुमारी साह र मकवानपुर–२ बाट ४० वर्षीय महेशकुमार बर्तौला तथा नेकपा (माओवादी केन्द्र) का मोरङ–४ बाट ३७ वर्षीय अमनलाल मोदी छन्। यस्तै ४० वर्ष उमेर समूहमुनिका राप्रपाका जुम्लाबाट ३० वर्षीय ज्ञानबहादुर शाही, रास्वपाका काठमाडौँ–२ बाट २७ वर्षीया सोविता गौतम, ललितपुर–३ बाट ३३ वर्षीया तोसिमा कार्की, चितवन–१ बाट ३९ वर्षीय हरि ढकाल छन्। नागरिक उन्मुक्ति पार्टीका कैलाली–१ बाट ३९ वर्षीया रञ्जिता श्रेष्ठ र कैलाली–२ बाट ३७ वर्षीय अरुनकुमार चौधरी उक्त उमेर समूहका हुन्।

७० वर्ष माथिका सांसद

यसैगरी ७० वर्ष माथिको उमेर समूहमा कांग्रेसका डडेल्धुराबाट प्रधानमन्त्री एवं सभापति ७७ वर्षीय शेरबहादुर देउवा, तनहुँ–१ बाट ७८ वर्षीय रामचन्द्र पौडेल, नुवाकोट–२ बाट ७५ वर्षीय अर्जुननरसिंह केसी, उदयपुर–१ बाट ७३ वर्षीय डा. नारायण खड्का, मोरङ–६ बाट ७२ वर्षीय डा. शेखर कोइराला छन्। यस उमेर समूहमा एमालेका झापा–५ बाट ७० वर्षीय केपी शर्मा ओली र कपिलवस्तु–३ बाट ७७ वर्षीय मङ्गलप्रसाद गुप्ता रहेका छन् भने नेकपा (माओवादी केन्द्र)का सर्लाही–२ बाट महीन्द्र राय यादव छन्।

जसपा नेपालका ७३ वर्षीय नवलकिशोर साह सुडी, राप्रपा रूपन्देही–३ बाट ७१ वर्षीय दीपक बोहरा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ बाट ध्रुवबहादुर प्रधान ७० वर्षभन्दा माथिको उमेर समूहका छन्। त्यस्तै लोसपा नेपालका महोत्तरी–३ बाट ८० वर्षीय महन्थ ठाकुर र रूपन्देही–४ बाट ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला तथा राष्ट्रिय जनमोर्चाका बागलुङ–१ बाट ८० वर्षीय चित्रबहादुर केसी यो उमेर समूहका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.