|

कतार विश्वकप अरेबियन टिमका लागि उत्साहप्रद रहेन। साउदीले अर्जेन्टिनालाई हराएर सनसनि मच्चाएको बाहेक अरेबियन टिमका लागि कतार विश्वकप पनि औसत रह्यो। तर समग्र एसियालाई हेर्ने हो भने कतार विश्वकप नकआउटसम्म पुग्नका लागि उत्कृष्ट विश्वकप दर्ज भयो।

एसिया क्षेत्रबाट अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले नकआउटमा स्थान बनाए।

यसमा पनि जापानको नतिजा साँच्चिकै अविश्वसनीय छ। जापानले समूह चरणमा जसरी खेल्यो उसको यही लय कायम रहे धेरै अघिसम्म पुग्ने आँकलन गरिएको छ।

जापानले समूह चरणमा उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दा अर्को विश्वकप विजेता स्पेनलाई समेत हरायो। त्यसैले जापान बलियो मनोबलका साथ क्वाटरफाइनलको लक्ष्यमा रहेको छ।

कतार स्थित अल जानुब स्टेडियममा सोमबार राति ८:४५ मा हुने खेलमा जापान क्रोएसियाको चुनौती समाप्त गर्दै नयाँ इतिहास बनाउन चाहन्छ। एसियाली मुलुक जापान इतिहासमा पहिलो पटक क्वाटरफाइनल पुग्ने लक्ष्यलाई साकार पार्दा बराबरीकै प्रतिस्पर्धा मानिने क्रोएसिया उसको चुनौतीका रुपमा रहने छ।​

त्यसो त गत संस्करणमा पनि कमजोर आँकिएको क्रोएसियाले फाइनल सम्म स्थान बनाउँदै सनसनि मच्चाएको थियो। फाइनलमा फ्रान्ससँग हारेको क्रोएसियाका लागि तेस्रो पटक अन्तिम ८ मा पुग्दै आफ्नो बलियो छविलाई कायम राख्नु पर्ने चुनौती रहने छ।

जापान र क्रोएसियाबिच विश्वकपको भीडन्तमा २ पटक प्रतिस्पर्धा हुँदा क्रोएसियाले १ पटक जित निकालेको थियो भने एक खेल बराबरी भएको थियो। १९९८ मा जापान विरुद्ध १-० को जित निकालेको क्रोएसिया पछिल्लो पटक २००६ मा भएको विश्वकपमा भने गोलरहित बराबरीमा रोकिएको थियो।

३ भेटमा दुबै टिमले समान १-१ जित निकाल्दा अर्को १ खेल बराबरीमा सकिएको थियो। त्यसैले जापान १६ वर्षपछि क्रोएसियाविरुद्व जित निकाल्दै नयाँ इतिहास कोर्ने लक्ष्यमा मैदानमा उत्रिने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.