'मधेशमा बेटी पढाऊ, बेटी बचाऊ नारामै सीमित, व्यवहारमा शून्य'

|

बारा :

घटना १

मुखमा माटो कोचिदिए, एक जनाले हात बेस्सरी समाते अनि जबरजस्ती ...... भन्दै २८ वर्षीया नाम परिवर्तित (रुपनी देवि चमार) भक्कानिइन्। घरमा शौचालय नभएको कारण राती शौचका लागि बाँसघारी गएकी उनी सासुकै अघि बलात्कृत भइन्।

यति मात्रै होइन, उनलाई साथी गएकी सासुमाथिको बलात्कारको विवश साक्षी पनि बनिन्। उपल्लो जातीका ति व्यक्तिहरूलाई दैनिक हेर्नु र पटकपटक त्यो घृणित क्षणले मानसपटलमा तितो धक्का दिनुले झनै विक्षिप्त छिन् उनी।

बुहारीलाई थप्थपाउँदै छेवैमा सुक्सुकाइरहेकी ४८ वर्षीया उनकी सासुलाई आफ्नोसँगै बुहारीको पीडाले पोलेको छ। 'कसैलाई भने मरिदिन्छौं भनेर हामी दुवैलाई असह्य पीडा दिएर हिँडेका ति तिनै जनालाई चिन्छु। ठूला जातिका बनेर हेप्दै आएका ती पापीहरू गाउँकै हुन्। घरबाट निकालिदिए जाने ठाउँ छैन, माइतीमा पनि स्विकार्दैनन्। फेरि सबैले हामीलाई नै थु थु गर्छन् भनेर कसैलाई भनेनौँ', रुँदै उनले पिडा पोखिन्।

दिनभरीको कामले साँझको माम पाक्ने अवस्थाको परिवार। जसका लागि पेट खालि गर्न शौचालय बनाउनुभन्दा पेट भर्नु ठूलो चिन्ता छ। उनीहरूका लागि शौच गर्न साँझ बिहानको अँध्यारो रोज्नु र बाँसघारीलाई शौचालय मान्नु बुद्धिमानी हुन्छ।

 त्यसैल त ५० घर रहेको यो दलित बस्तीमा २ वटा मात्रै शौचालय छ। २ घर बाहेक अन्य घरका पुरुषले शौचका लागि छिमेकका हुनेखानेको खेत र महिलाले रातको समयमा खोलाको डिल र बाँसघारीको एकान्त रोज्छन्। तर त्यही अँध्यारोमा अस्तित्व लुछिएको कालो पलले यी दुई सासु बुहारी जस्तै कैयन् महिलालाई आफ्नै छायाँसँग तर्सिने बनाएको छ भन्ने लेखा जोखा छैन।

घटना २

श्रीमान् भारतमा मजदुरीका लागि गएको ७ महिना भएको छ। खेतीको चटारोले थाकेकी नाम परिवर्तित (सुरसती देवि पासवान) साँझ चाँडै सुत्ने तयारीमा थिइन्। तर सासु ससुरालगायत परिवारलाई खाना खुवाइ सकेर साना छोरा छोरीलाई सुताउँदा सँधै झैं अबेर भयो। अब सुत्छु भन्ने बेला पेट कटक्क दुख्यो र दिशा लाग्यो।

 थाकेको शरीर भारी बनाउँदै घरखेतभन्दा पर खोल्सामा गइन्। मन लागि नलागि बल्ने ब्याट्री सकिन लागेको टर्च बोकेर दिशा बस्न गएकी उनीमाथि झ्वाम्म हामफालेको त्यो व्यक्ति उनकै गाउँको देवर पर्ने रहेछन्।

'ऐनासँग दुश्मनी गरेको त्यहि रातबाट हो, आजकाल ऐना हेर्दिन। मैले जातभाइ समान सोचेको व्यक्तिले मलाई कुरूप बनायो', सुरसतिले भनिन्, 'आफैसँग घिन लाग्ने भएँ म। आमा नभएको माइतीमा कसले सुन्छ मेरो दुःख। यता कसैलाई भने बदनाम गर्ने धम्की दिएको थियो। श्रीमान् सँग पनि उसको राम्रो छ। अव तपाईंलाई थाहैहामीमाथि दाग लगाउन कति सजिलो छ।'

समाजले राम्रो भनेर चिनिएको मान्छेलाई भन्दा बढी बिहे गरेर आएकी मान्छेलाई भरोसा गर्दैनन्। त्यसमाथि खोजेर सकेजतीको दाइजोसहित बिहे गरेर पठाएको चेली माइती फर्किने वातावरण पनि नहुँदा आफूमाथि भएको बलात्कारलाई चुपचाप सहनुको विकल्प हुन्न रुपनी र सुरसती जस्ता पीडितहरूको।

घटनाबारे कसैसँग भन्न नसक्नु, पिडकहरू बारम्बार देखिंदा÷भेटिँदा पनि केही गर्न नसक्नु र सधैँ शौच गर्न सोही ठाउँमा जानुपर्ने बाध्यताले उनीहरूलाई पटक पटक मृत्युसँगै जुझेको महसुस गराएको छ।

घटना ३

११ महिने छोराको भाँचिएको हात देखाउँदै नाम परिवर्तित (झलिया देवि धाँगड)ले आफ्नो वेदना सुनाइन्। 'घर नजिक भए पनि माइतीमै थिएँ। सुत्केरी भएको ७ महिना पुग्नै लागेको थियो। राती बच्चाले झगडा गरेर राम्ररी सुत्न नदिएकोले बिहानपख भुसुक्कै निदाएछु।

 उज्यालो हुनै लागेकोले  हतार हतार शौच गर्न घर भन्दा निक्कै पर अरूको खेतमा पुगेकोले फर्किँदा समय लाग्यो। घरमा आइपुग्दा हल्लाखल्ला भइरहेको, वरपरको मान्छेहरू जम्मा भइरहेको देखें। के भएको भनेर सोध्नु अगावै श्रीमानले लात्ती चलाइहाले। एउटा बच्चा सम्हाल्न नसक्ने तँ त बाँझै हुनुपर्ने भन्दै बेस्सरी भकुरे। सासुका थरीथरीका गालीका बीच निरीह देखिन्थे माइतीका बुवाआमा। दिशा फाल्न जाँदा दशा लाग्यो।'

निदाएको छोरा छोडेर शौच गएकी उनले आमालाई बाबु हेर्नु है भन्न भुलिछन्। जसको बदला सानो छोराको हात भाँचियो। छोराको हात भाँचिएको पिडासँगै झलीयाको सुत्केरी ज्यानमा श्रीमानको कुटाइले अंगअंग दुख्ने बनायो।

घटना ४

नम परिवर्तित (संगीता विक) १९ वर्षकी भइन्। उनलाई कहिले २० वर्ष पुगौंला अनि विवाह गरी माइती गाउँको असहजता छोडौंला झैं भएको छ। यस्तो लागेको झन्डै ४ वर्ष भयो। दिशाले बेसरी च्यापेका कारण टाढा जान भ्याइनछिन्।

विद्यालय जान हतार हतारै भएको बेला दौडेर घर पछाडिको बाँस घारीमा पुगिन्।  कतैबाट आएको गलल्ल हाँसोको आवाजले जुरुक्कै उठिन्। हेर्दा अम्बाको रुखमाथि छिमेकका ४÷५ जना केटाहरू बसेका रहेछन्। उनी रातो पिरो हुँदै घर आइन्। लाज र रिस मिसाएर आमालाई सुनाएको यो कुरा हाँसोमा उडाएर उल्टै दायाँबायाँ नहेरी बस्ने हो त? भन्ने प्रश्नले संगीतालाई मनमा चस्स घोच्यो।

भोलिपल्टदेखि विद्यालय जाँदा आउँदा ती केटाहरूले मजाक उडाउन थाले। दैनिक जसो जिस्क्याउन थालेपछि उनी दिक्क भइन्। विस्तारै पढाइमा मन लाग्न छोड्यो सात कक्षामा उनी फेल भइन्। त्यसपछि पढाइ छोडिन्। ऐलानी जग्गामा फुसको घर छ। आर्थिक अवस्था कमजोर छ।

शौचालय बन्ने टुंगो छैन र जिस्क्याउने हरूको नजर अहिले पनि उस्तै छ। यो सबै समस्याको समाधान उनले बिहेलाई देखेकी छिन् तर विवाह पछिको घरमा शौचालय हुने नहुनेमा भने अझै सशंकित छिन्।

त्यस्तै घटना भयो १ सय २० घर भएको दलित बस्तिमा जाहाँ मात्रै ६० घरमा शौचालय छ। जितपुरसिमरा उपमहानगरपालिका-९ को यस बस्तिको पूर्वपट्टी सिर्सिया खोला किनारमा केही दिन अघि शौच गर्न गएका बेला किशोरीहरूलाई जिस्क्याएर हैरान पार्ने केटाहरूलाई समाजले माफी मगाएको दलित अगुवा राजदेव पासवानले बताए।

 नेपाल दलित मुक्ति मोर्चा बाराका संयोजक पासवानले परम्परागत तवरले गाउँसमाजका भद्रभलाद्मीहरू बसेर आगामी दिनमा यसो गरे दण्ड जरिमानासहित कानुनी कारबाही गर्ने सर्तमा माफी मगाएर छाडेको बताए। शौचालय जाँदा समेत यौनजन्य यस्ता घटना भइरहनुले समाजमा हिंसा अति विकराल रुपमा अवस्थित रहेको पुष्टि हुन्छ।

तोकिएकै मितिमा नेपाललाई पूर्ण खुला दिशा मुक्त घोषणा गर्न सरकारी सेवाबाट वञ्चित गरेरै भए पनि शौचालय बनाउन दवाब दिएर अघि बढ्नुले तत्कालिन अवस्थामा सफलता पाएकै हो। लहर नै चलाइयो जसको परिणाम स्वरुप ९० प्रतिशत शौचालय बनेको निर्क्योल भएका स्थानलाई खुला दिशा मुक्त स्थान घोषणा गरिए।

बाँकीमा छिट्टै बन्ने अपेक्षा सहित प्यान र रिंग बाँडिएको भए पनि सरोकारवालाले घच्घच्याउन तथा आवस्यक प्राविधिक समस्या समाधानमा चासो नदिँदा प्यान फुटेका, माटोले पुरिएका र रिंग सामान राख्ने भाँडो बनेका छन्। गर्भवती अवस्थामा र महिनावारीका बेला छिटो छिटो पिसाब लाग्ने समस्या हुन्छ।

यो समयमा पिसाब फेर्न जहाँ पायो त्याहाँ सहजै बस्न सकिन्न। यौन जन्य रोग तथा पाठेघरको क्यान्सरबाट बच्न महिनावारीका बेला ६ घण्टाको अन्तरालमा प्याड बदल्न तथा सफा पानीले योनि सफा गर्न चिकित्सक सुझाबका बाबजुद पनि दलित समुदायलाई भने ढुक्क भएर पिसाब फेर्न पनि ठाउँ छैन।

यो विकराल समस्यालाई समस्या नदेख्नेहरूले कागजी रुपमा खुला दिशा मुक्त घोषणा गरेको आरोप लगाउँछिन् सामाजिक कार्यकर्ता सृजना गुरागाईं सुवेदी। उनी भन्छिन्, 'पहिला प्रायः सबै जना खेतका आली, खोलाको डिल, बाटो, बाँसघारीमा शौच जान्थे।

खुला दिशा मुक्त घोषणा पछि हुनेखानेले शौचालय बनाए, प्रयोग गरे तर हुँदा खानेहरू भने हुनेखानेको आँखाको तारो बने। दुःखले आर्जेको खान्छन् तर दिशा फाल्दा नानाथरीका गाली सुन्छन्, अनेक थरीको हिंसा÷डर खेप्छन्। 'यसतर्फ कसैको ध्यान नजानु विडम्बना हो।

खुला दिशा मुक्त अभियानले सुरुवातमा राम्रो परिणाम दिएकोमा दुइमत छैन तर घोषणा पछि यसतर्फको चासो र चर्चा नै नहुनुले समस्या ज्युँ का त्युँ भएको बताउँछन् संविधान सभा सदस्य जयप्रकाश थारु।

उनी भन्छन्, 'दलितसँगै गरिब समुदायमा अझै शौचालय नबन्नुमा स्थानीय तथा प्रदेश सरकार दोषी छ। कागजी काममा मात्रै जोड दिने स्थानीय सरकारले पूर्ण सरसफाई अभियानलाई अपनत्व लिन सकेन भने प्रदेशले सुन्दा आनन्द लाग्ने स्वच्छता अभियान र बेटी पढाउ बेटी बचाउ जस्ता मिठा नारा घन्कायो तर व्यवहारमा शून्य भयो।  त्यसकारण मधेशवासी दलित तथा गरिब परिवार अहिले पनि शौचालयको पहुँचभन्दा बाहिर विभिन्न समस्यासँग जुझ्दैछन्।'

दलित महिलालाई वास्तवमै पर्नु आपत परेको छ। दिनमा दिशा पिसाबका लागि निश्चित ठाउँ छैन। रातमा सर्पजन्य जन्तुको मात्रै होइन मानव रुपी दानवहरूको डर छ। यस्का वावजुद हुनेखानेको खेतमा शौच गरे नानाथरी गाली खानुपर्छ। खुला दिशा मुक्त घोषणा पछि सर्प जन्य जन्तुको डरत्रास, यौनजन्य हिंसासँगै गालि खानुपर्ने बाध्यतासमेत थपिएको छ। 

चारवटा रिंग र प्यान सिट दिएको भरमा शौचालय बनाउन दलित समुदायका लागि सम्भव नभएको दलित अधिकार कर्मी अरुणा विकको तर्क छ। विक थप्छिन्, 'अधिकांशको ऐलानी २ देखि ५ धुर जग्गा छ, त्यसमा दुई पाखे फुसको घर छ, त्यसै भित्र खाना बनाउने, खाने, कपडा फेर्ने, बच्चा पढ्ने, गफगाफ हुने, सानाठुला सहित आउनापाहुना र जोडीहरू पनि सुत्ने लगाएत सम्पुर्ण काम हुन्छ।

यस्तो अवस्थाका बीच शौचालय बनाउने जग्गा कहाँबाट आउँछ ? दिनमा काम नपाए साँझ भोकै हुने अवस्था छ शौच बनाउने पैसा कसरी जुर्छ ?'

फेरि पुरुष त बिहानै काममा जान्छन्। उतै दिशा गर्छन्। समस्या त महिला वर्गलाई हुन्छ, जे हुन्छ उनीहरूकै अहितमा हुन्छ। यसबारे सम्बन्धित निकाय मौन देखिन्छ। दलित मुक्ति मोर्चा बारा संयोजक पासवानले खुला दिशा मुक्त घोषणापछि आफूहरूले नगरपालिकामा कुरा उठाएको भए पनि सुनुवाई नभएको बताए। समग्र दलित समुदायमध्ये ३० प्रतिशतको मात्रै शौचालयमा पहुँच भए पनि यसतर्फ कसैको ध्यान नगएको भन्दै उनले सिंहदरबार घरमा आएको विषय दलितका लागि कागलाई बेल बराबर भएको बताए।

यसैबीच, जितपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले विगतमा जसरी पालिकाले पूर्ण सरसफाइका लागि पहल गर्नुपर्ने हो त्यो नभएको विषय जनतासँग नलुकेको भन्दै अबका दिनमा सकारात्मक परिवर्तन हुनेमा ढुक्क हुन आग्रह गरे।

उनले भने, 'अन्य स्थानको त म जान्दिनँ तर मेरो पालिकामा कहाँ कति शौचालयको आवश्यकता छ भन्ने विषयमा खोज्ने कार्य सुरु गरिसकेका छौँ र चाँडै बनाउने तथा प्रयोगमा जोड दिनेछु।'

पौडेलले भने जस्तै अन्य पालिकाले पनि योजनाबद्ध तवरले अघि नबढे यौन हिंसा बढ्ने, मानसिक रुपमा महिलाहरू रोगी हुँदै जाने, यौन जन्य तथा पाठेघर सम्बन्धी रोगीको संख्या बढ्ने र धेरैको शिक्षा अपूर्ण रहनेमा कुनै दुईमत छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.