|
फाइल तस्वीर

काठमाडौं : विश्वकप लिग-२ अन्तर्गत नामिबिया सिरिजमा नेपाली क्रिकेट टोलीले गतिलो प्रदर्शन नगरेपछि राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले पद छाड्ने आँकलन गरिएको छ।

प्रशिक्षक प्रभाकरले नै पनि लामो समय नेपाली टिमको प्रशिक्षक रहन नचाहेको र क्यानले पनि लिग-२ मा नेपालको खेल र नतिजा गतिलो नभएसँगै नयाँ प्रशिक्षक ल्याउनुपर्ने सुझाव सबैतिरबाट पाएकाले प्रभाकरले अब राष्ट्रिय टिम छाड्ने क्यानसम्बद्ध स्रोतले बताएको छ।

विश्वकप लिग-२ मा नामिबियामा नेपाली टोलीको प्रदर्शनबारे नेपाल क्रिकेट संघ (क्यान) का महाप्रवन्धक वृतान्त खनाल र म्यानेजर विनोद दासले क्यानलाई प्रशिक्षक प्रभाकरका बारेमा ‘रिभ्यु’ गर्नुपर्ने प्रतिवेदन बुझाएका थिए। 

क्यानका महाप्रवन्धक खनालका अनुसार लिग-२ का खेलपछि प्रतिवेदन बुझाउने प्रक्रियाअन्तर्गत नै प्रशिक्षकका बारेमा रिभ्यु गरिएको हो। यो क्यानको नियमित प्रक्रिया भएकाले नतिजापछि प्रतिवेदन बुझाउने नियमित प्रक्रिया पूरा गरेको उनको भनाइ थियो।

क्यान स्रोतले प्रशिक्षक प्रभाकर अब राष्ट्रिय टिमको प्रशिक्षणमा नफर्किने बतायो। उनी भारत गएपछि नेपाल नफर्कने स्रोतको भनाइ छ।

क्यानले यसबारे आधिकारिक रूपमा केही भनेको छैन। प्रभाकरले क्यानसँग सहमतिमा नै पद छाड्न लागेकाले बैठकपछि क्यानले यसबारे जानकारी दिने बताइएको छ।

नामिबियामा भएको नामिबिया‚ स्कटल्याण्ड र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले एउटा खेलबाहेक सबै खेल हारेको थियो। एउटा खेल भने पानी परेर खेल हुन नसक्दा नेपालले १ अङ्क पाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.