|

सर्लाही : सर्लाहीको विष्णु गाउँपालिकामा बजेट पारित गर्न गाउँसभा अझै बस्न सकेको छैन। गापा अध्यक्ष जवाहरलाल राय यादवले पटक–पटक गाउँसभा बैठक राख्ने प्रयास गरेका छन्। अध्यक्ष यादव अल्पमतमा हुँदा गाउँसभामार्फत बजेट पारित हुन नसकेको हो।

स्रोतका अनुसार बजेट भागबण्डामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरूबीच कुरा मिल्न नसक्दा यस प्रकारको समस्या उत्पन्न भएको हो। गापा अध्यक्ष यादवले आफू कामको सिलसिलामा काठमाडौँमा रहेको र फर्किनासाथ बजेट पारित गराउन पुनः पहल गर्ने बताएका छन्।

बजेट पारित नहुँदा भारतसँगै सीमा टाँसिएको विष्णु गापाका कर्मचारी, शिक्षकलगायतले यो आर्थिक वर्षको साउनदेखि नै तलब सुविधा पाउन सकेका छैनन्। आर्थिक कारोवार नहुँदा गापामा विकासको काम ठप्प छ।

त्यस्तै जिल्लाकोे हरिपूर्वा नपाले समेत एकमुष्टमा बजेट पारित गरे पनि शीर्षकगत रूपमा बजेट विनियोजन गर्न सकेको छैन। हरिपूर्वाका नगरप्रमुख विनोद साह तेलीले एकमुष्ट बजेट असारमै पारित गरिएको र शीर्षकगत रूपमा विनियोजन गर्न विशेष नगरसभा बोलाउने तयारी गरिएको बताए। कात्तिकमा विशेष नगरसभा गर्न खोज्दा निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेको भन्दै सभा स्थगित गर्न निर्देशन दिएको थियो।

हरिपूर्वामा पनि विष्णु गापामा झैँ आर्थिक कारोवार नहुँदा विकास निर्माणका काम रोकिएका छन् भने कर्मचारीले तलब सुविधा लिन पाएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.