|

सल्यान : जल्लाका किसान बेमौसमी तरकारी खेतीप्रति आकर्षित भएका छन्। बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि यहाँका १० वटै स्थानीय तहका किसानका घरमा प्लाष्टिक घर निर्माण भइरहेका छन्। हिउँदे मौसममा ताजा तरकारीको मूल्य राम्रो हुने भएकाले किसानले प्लाष्टिक घर निर्माण गरी उत्पादन गर्न थालेका हुन्। 

जिल्लाको कपुरकोट गाउँपालिका ३ का कृषक थमन गिरीले ११ रोपनी जमिनमा ३६ वटा टनेल निर्माण गरेर तरकारी खेती गरिरहेका छन्। बाहिर र टनेलभित्र खेती गर्नुमा धेरै फरक पर्ने उनी बताउँछन्। ‘१९ वटा फलाम प्रयोग भएका र १७ वटा काठ प्रयोग भएका टनेलमा मैले तरकारी खेती गरिरहेको छु। टनेलभित्र तरकारीलाई झरी, असिना, घाम, हुरी बतासले असर नगर्ने र रोगकिरा पनि नलाग्ने भएकाले अर्गानिक उत्पादन हुन्छ।’  ​

टनेलमा टमाटर, भेडे खुर्सानी, काँक्रा लगायतका तरकारी तथा फलफूल उत्पादन गर्न सकिने उनको भनाइ छ। अहिले वार्षिक १० लाखसम्म आम्दानी गर्दै आएका भएकाले थमनले वार्षिक ३० देखि ३२ लाख रुपैयाँसम्म कमाइ गर्ने लक्ष्य रहेको बताए। गिरी कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिक तरकारी खेती गरिरहेका उनले घरपरिवारका सदस्यबाहेक दुई जनालाई रोजगारी दिएका छन्। 

कपुरकोट ४ गाँडापानीका किसान किरण कठायतले पनि टमाटर, काउली, आलु, बन्दा लगायतका तरकारी टनेलभित्र फलाउँछन्। इजरायल गएर तरकारी खेतीको अनुभव समेत सँगालेका उनले त्यहाँको प्रविधि प्रयोग गरेर टनेलमा तरकारी खेती गरिरहेका छन्।  ‘टनेलमा कम लागतमा धेरै उत्पादन हुन्छ’, उनी भन्छन्, ‘रोग किरासँगै पशुचौपायाले क्षति पनि गर्न सक्दैन।’ 

व्यावसायिक रुपमा तरकारी तथा फलफूल खेती गर्न चाहने किसानलाई सरकारी पक्ष तथा विभिन्न परियोजनाबाट पनि सहयोग हुने गरेको छ। तरकारीको गुणस्तर र उत्पादकत्व पनि बढ्ने भएपछि जिल्लाको त्रिवेणी गाउँपालिकाले किसानलाई टनेल निर्माणका लागि प्लाष्टिक सहयोग गर्दै आएको छ। गाउँपालिकाको कृषि विकास शाखाका अनुसार पालिकाभर करिब ५०० किसानले टनेलमा तरकारी खेती गरिरहेका छन्।

टनेल भित्र उत्पादन गर्दा फाइदा बढी हुने भएपछि किसान टनेलमा खेती गर्न आकर्षित भएको कृषि विकास शाखा प्रमुख अधिकृत छैटौँ लक्ष्मी चन्दले बताइन्। ‘प्लाष्टिकको घरभित्र तरकारी खेती गर्दा थोरै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने, रेखदेख र सुरक्षा गर्न पनि सजिलो हुने भएकाले आकर्षण बढ्दै गएको छ। पालिकाले पनि नियमित रूपमा सहयोग गर्दै आइरहेको छ।’  

यो वर्ष पनि ४५  किसानलाई टनेल निर्माणका लागि प्लाष्टिक सहयोग गर्ने कार्यक्रम रहेको कृषि विकास शाखा प्रमुख चन्दले जानकारी दिइन्। जिल्लाभर तीन हजार भन्दा बढी प्लाष्टिक घर रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.