|
फाइल तस्वीर

काठमाडौं : विश्वकप क्रिकेट लिग डिभिजन-२ मा नेपाली क्रिकेट टोलीको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको हो। नामिबिया भ्रमण सकेर उतैबाट भारततर्फ लागेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको क्यानले जनाएको छ।

तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले पद छाडेपछि यसै वर्ष साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका थिए। उनको प्रशिक्षणमा नेपालले हालै नामिबियामा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ का ४ खेलमध्ये एक खेलबाहेक बाँकी खेलमा पराजित भएको थियो।

यससँगै नेपालको विश्व क्रिेकट लिग डिभिजन–२ को अंक तालिकाको शीर्ष तीनभित्र रहन कठिन भएको छ। नेपालले नामिबियासँग १ र स्कटल्याण्डसँग २ हार बेहोरेको थियो। हारपछि नेपालको शीर्ष तीनमा रहने सम्भावना अन्त्य भएको थियो।

७ राष्ट्रमध्ये २४ खेलमा मात्र १८ अंक जोडेको नेपाल छैटौं स्थानमा छ। शीर्ष स्थानको स्कटल्याण्डको ३२ खेलबाट ४६ अंक छ भने दोस्रो स्थानको ओमानको ३६ खेलबाट ४४ अंक छ।

तेस्रो स्थानको नामिबियाको ३० खेलमा ३७, चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ र पाँचौं स्थानको युएईको २६ खेलमा २७ अंक छ। सातौँ स्थानको पपुवा न्युगिनीको २८ खेलमा ५ अंक छ।

प्रभाकरको प्रशिक्षणमा नेपालले सेप्टेम्बर–अक्टोबरमा केन्याविरुद्धको टी–२० र एकदिवसीय श्रृंखला जितेको थियो। गत महिना घरेलु मैदानमा सम्पन्न युएईविरुद्धको एकदिवसीय श्रृंखला पनि नेपालले जितेको थियो।

पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्धसमेत बिग्रिएको थियो। जसको कारण प्रभाकरको राजीनामा आएको कतिपयले अनुमान लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.