|

काठमाडौंं : निर्वाचन आयोगको तथ्यांकअनुसार २०७९ मंसिर ४ को निर्वाचनमा ५.१९ मत बदर भयो। यो २०४८ यताकै बढी हो।

शुक्रबारको गोरखापत्र दैनिकमा इश्वरचन्द्र झा समाचार लेख्छन्, २०५६ को निर्वाचनमा सबैभन्दा कम २.७५ प्रतिशत थियो। 

यो निर्वाचनमा प्रदेश सभाको प्रत्यक्षतर्फ बदर मत ६.५५ प्रतिशत छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत र प्रदेश सभाको समानुपातिकतर्फ ४.०७ प्रतिशत मत बदर भएको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ मत बदर भएको छ।  

आयोगले बदर मत घटाउन प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फ अलग्गै मतपत्र छापेको थियो। चार प्रकारका मतपत्रमा उम्मेदवार हुने दलको मात्रै निर्वाचन चिह्नमा मत संकेत गर्न मिल्ने व्यवस्था गरियो। 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढेपछि निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दल मात्रैको निर्वाचन चिह्न हुनेगरी मतपत्र तयार पारे पनि आयोगले अपेक्षा गरेअनुसार बदर मत प्रतिशत घटेन। 

जिल्लागत आधारमा हेर्दा यो निर्वाचनमा बाँकेमा करिब १० प्रतिशत मत बदर भएको पाइएको छ। प्रतिनिधिसभाको समानुपातिकमा ७.४७ प्रतिशत मत बदर भएको बाँकेमा प्रदेशतर्फको समानुपातिकमा ९.४५ प्रतिशत मत बदर भएको हो।

डडेल्धुरामा प्रतिनिधि सभाको समानुपातिकतर्फ सबैभन्दा बढी ९ प्रतिशत मत बदर भएको छ। चितवनमा प्रदेश सभाको समानुपातिकतर्फ ८.७३ र प्रत्यक्षतर्फ ५.९१ प्रतिशत मत बदर भएको हो। 

‘बदर मतको प्रतिशत सोचेभन्दा पृथक् नै आयो’, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘कारण खोतल्न सकेका छैनौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.