|
फाइल फोटो

म्याग्दी : म्याग्दी कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ।

मुस्ताङ र म्याग्दी आसपासका क्षेत्रको कालीगण्डकी नदीमा शालिग्रामको उत्खनन् र खोजी  गर्न सरकारी प्रतिनिधि सहितको एक टोली म्याग्दी आएको छ।

प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शिला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको छ। यहाँबाट शालिग्राम शिला जनकपुरस्थित जानकी मन्दिरमा लगिने भएको छ।

आइतबार बसेको नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले समेत शिला खोजी गरी जनकपुरधाममा लैजान गरिएको प्रस्तावलाई स्वीकृत गरिएको सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका थिए।

तीन दशकअघिसम्म कालिगण्डकी नदीमा अत्याधिक पाइने शिला अहिले सडक सञ्जालको विस्तार, नदीमै राखिएको क्रसर उद्योगको अवैध उत्खनन् लगायत विभिन्न किसिमका मानवीय र प्राकृतिक कारणले शालिग्राम लोप हुँदै गएको छ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले शालिग्राम शिलाको खोजीमा आएको टोली शालिग्राम पाइने सम्भावित क्षेत्रमा पुगेको बताए।

‘एउटा पहिचान भइसकेको छ, अर्को खोज्ने कार्य अहिलेलाई रोकिएको छ’मेयर केसीले भने । उत्खनन् गर्दा नदीबाट हुनसक्ने क्षतिबारे समेत टोलीलाई सचेत बनाइएको मेयर केसीको भनाइ छ। बेनी नगरपालिकालाई गण्डकी प्रदेशबाट समेत पत्र प्राप्त भएपछि जनप्रतिनिधिसहितको टोलीले समेत सघाइरहेको छ।

बेनीको देभानदेखि गलेश्वर आसपासका क्षेत्रबाट शालिग्राम शिला लैजाने बताइएको छ । शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रूपमा पुज्ने गर्छन्। 

कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दू धर्मावलम्बीका लागि निकै बहुमूल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको टोलीका प्रतिनिधिको भनाइ छ। शालिग्राम शिला पाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदी आसपासमा हुने अवैध उत्खनन् तीव्र छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.