|

हेटौंडा : बागमती प्रदेशसभाको सर्वदलीय बैठक पुस ८ गते शुक्रबार बस्ने भएको छ ।

बागमती प्रदेशसभा सचिवालयले पुस ८ गते शुक्रबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको हो।

सर्वदलीय बैठकका लागि प्रत्येक राजनीतिक दलबाट दुई–दुई जनालाई बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको शपथग्रहण गराउनुपर्ने, प्रदेश सांसदहरुको शपथग्रहण गराउनुपर्ने र प्रदेशसभा बैठक सञ्चालन गर्नेबारे छलफल गरिने उनले बताए।

प्रदेशसभा सचिवालयले प्रदेश सांसदहरुमध्येबाट ज्येष्ठ सदस्यको पहिचान गरिसकेको छ । माओवादी केन्द्रबाट नुवाकोट निर्वाचन क्षेत्र २ को (क) बाट प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षीय रामप्रसाद ढुङ्गाना प्रदेशसभाको जेष्ठ सदस्य हुन्।

सभामुख तथा उपसभामुख चयन नभएसम्म ज्येष्ठ प्रदेशसभा सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था रहेको छ । प्रदेशसभाको पहिलो बैठक सुरु भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा १८२ को उपधारा १ मा उल्लेख छ।

आयोगले गत शनिबार निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष बुझाएसँगै सचिवालय प्रदेशसभा सदस्यको सपथ ग्रहण तथा प्रदेशसभा सञ्चालनको तयारीमा जुटेको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.