|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले ब्याचलर (स्नातक)को अन्तिम वर्षको नतिजा प्रकाशित नगरी मास्टर्स (स्नातकोत्तर)को भर्ना सूचना निकालेपछि यसको चौतर्फी विरोध र आलोचना भएको छ।  

त्रिविले गत बुधबार स्नातकोत्तर तह प्रथम सेमेष्टरको भर्ना कार्यक्रम सार्वजनिक गरेको थियो। सूचनामा त्रिविका मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०७९।०८० का लागि स्नातकोत्तर तह प्रथम सेमेष्टरको नयाँ भर्ना तालिका उल्लेख छ। जसमा आवेदन फाराम वितरण र बुझाउने समय पुस ५ गतेदेखि माघ ४ गतेसम्म तोकिएको छ। 

प्रवेश परीक्षा तथा भर्ना सम्बन्धी अन्य विस्तृत जानकारी सम्बन्धित डिनको कार्यालयले निर्धारण गरेअनुसार हुने उल्लेख छ। ‘कक्षा सञ्चालन माघ २२ गतेदेखि हुने छ, विद्यार्थीले प्रवेश चाहेको प्रत्येक संकाय अध्ययन संस्थान र विषय अनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनुपर्ने छ। आवेदन दिँदा फारामसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि बुझाउनुपर्ने छ’, सूचनामा भनिएको छ। 

यी तालिका अनुसार भर्ना तथा कक्षा सञ्चालन गर्न त्रिविले सम्बन्धित क्याम्पसलाई निर्देशन दिएको छ। त्रिविले समयमा परीक्षा नतिजा निकाल्न नसकिरहँदा यो सूचनाले त्रिविको व्यवस्थापकीय पाटोलाई नै गिज्याएको छ। विद्यार्थीहरू भने आक्रोशितसँगै अन्योलमा परेका छन्।

‘त्रिविले विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्न खोज्यो’

त्रिविले व्यवस्थापन संकाय अन्तर्गत बिबिएस चौथो वर्ष लगायत अन्य तहको अझै अन्तिम वर्षको नतिजा एक वर्ष भइसक्दा पनि प्रकाशित गरेको छैन। बिबिएस चौथो वर्षको नतिजा कुरिरहेकी दिवाना सुनुवारले भनिन्, ‘अझै हाम्रो नतिजा प्रकाशित भएको छैन। उता मास्टर्सको भर्ना सूचना आइसक्यो। अब हामी के आधारले भर्ना गर्न जाने, दोधारमा परियो। यो कस्तो लापरबाही हो।’

उनका अनुसार बिबिएस चौथो वर्षको परीक्षा गत पुसमा भएको थियो। उनले यसरी विद्यार्थीहरूको भविष्यमाथि त्रिविले खेलवाड गर्ने कुनै अधिकार नभएको भन्दै यो तत्काल सूचना सच्याउनुपर्ने वा नतिजा प्रकाशित गर्नुपर्ने माग गरिन्।

नतिजा पाउन आन्दोलन नै गर्न बाध्य छन् विद्यार्थी 

विश्वविद्यालयले देशका लागि योग्य‚ कर्णधार, दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने वेला पछिल्लो समय चरम बेथितिकै जालोमा फसेको छ। परीक्षा सञ्चालन गरेको १५ महिनासम्म नतिजा प्रकाशित गर्दैन त्रिवि। नतिजा कुर्न नसकेपछि विद्यार्थीहरू आन्दोलित गर्न बाध्य छन्। 

धादिङको सदरमुकाम धादिङबेंशीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरूले त्रिविले बिए प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको भन्दै कात्तिक २० गते प्रदर्शन गरेर विरोध जनाएका थिए।

‘खै रिजल्ट मुसाले खायो, खै मुसा टियूभित्र पस्यो, शिक्षामा राजनीति गर्न पाइँदैन यस्तो विश्वविद्यालय चाहिँदैन’लगायत नारा लेखिएको प्लाकार्डमा आन्दोलन गरेका थिए। यही विरोधकै दबाबका कारण नतिजा प्रकाशित भएको थियो।

त्रिवि भन्छ : पुस १५ भित्र बाँकी सबै नतिजा प्रकाशित हुन्छ

त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले यही पुस १५ भित्र सबै बाँकी नतिजा प्रकाशित हुने भएकाले नै भर्नाका लागि यो सूचना प्रकाशित गरेको जानकारी दिए।

‘बाँकी नतिजा पुस १५ भित्र निकाल्ने भनेर अहिले जोडतोडका साथ काम अगाडि बढिहरेको छ। समन्वय भएर नै यो सूचना प्रकाशित भएको हो। परीक्षा नियन्त्रण कार्यालयले नतिजाको लागि प्रेसर छ भनेर दिनरात नै कर्मचारी खटाएको छौँ भन्ने जानकारी गराएको छ’, उनले थाहाखबरसँग भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.