|

काठमाडौं : अवैध लागुऔषध कोकिन र चरेशको कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कारोबारमा संलग्नहरुलाई सार्वजनिक गरेको हो।

ब्राजिलबाट ल्याइएको ५ केजी ६ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई गत पुस ६ गते पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धानको कामलाई अघि बढाइएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए।

प्रहरीले बरामद गरेको कोकिनको बजार मूल्य १२ करोड ९ लाख ६० हजार रहेको पनि जनाएको छ।

त्यसैगरी ३३ केजी चरेशसहित ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ। गत पुस ४ गते काठमाडौंको चन्द्रागिरि बस्ने वर्ष ६४ का अल्कबहादुर तामाङ, धादिङका २७ वर्षकी स्यानी चेपाङ, सोही ठाउँका चम्पे चेपाङ र ६५ वर्षका भारतीय नागरिक शरप ल्याल्टसेनलाई पक्राउ गरिएको पनि लागुऔषध नियन्त्रण व्यूरोले जनाएको छ।

उनीहरुबाट बरामद गरिएको चरेशको बजार मूल्य १८ लाख १५ हजार रहेको व्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक खनालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.