|
फाइल तस्वीर

रौतहट : राज्यले महिला हिंसा तथा सामाजिक कुरीति न्यूनीकरण गर्न वार्षिक करोडौँ लगानीमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि तराई मधेशमा अझै जस्ताको तस्तै छ।

जनचेतनामूलक अभियानमा निरन्तरता दिए पनि रौतहटमा महिला आत्मनिर्भर हुन सकेका छैनन्। रौतहट जिल्लाका ग्रामीण क्षेत्रका महिला लगायत नाबालिग पनि हिंसाका शिकार बन्दै गएका छन्। घरेलु हिंसाका कारण मानसिक, शारीरिक, आर्थिक‚ यौनजन्य समस्या सामना गर्न रौतहटका महिलाहरू बाध्य छन्।

आफू जन्मेको, हुर्केको परिवार तथा समाजमा पनि तराई मधेशका ग्रामीण क्षेत्रका दलित समूहका महिला यौनजन्य हिंसाबाट पीडित छन्। रौतहटका प्रायः दलित समुदायका महिलाहरू सामाजिक कुरीतिका कारण जातीय विभेदमा पनि पर्ने गरेको पाइन्छ।

गत महिना हिंसाविरुद्ध १६ दिनका लागि कार्यक्रम आयोजना गरियो। त्यसको १४ दिन नबित्दै विद्यालयमा शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै घटना बाहिरियो।

रौतहटको यमुनामाई गापा-४ स्थित जनता माविमा कक्षा ५ मा अध्ययनरत बालिकामाथि शिक्षकले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि पीडित बालिकाका आफन्त न्याय माग्दै प्रदर्शनमा उत्रिए।

आरोपी शिक्षक वीरेन्द्र सिंहलाई कारबाही हुनुपर्ने माग गर्दै सडकमा उत्रिएका स्थानीयसहित पीडित बालिकाका आफन्त र प्रहरीबीच झडप हुँदा तनावग्रस्त वातावरण  नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो।

शिक्षा दिने गुरुले अभद्र व्यवहार गरेपछि स्कुलमा पनि बालिका असुरक्षित हुने भए भनेर पीडित बालिकाका आफन्त र स्थानीय ढुङ्गा प्रहार गर्दै आक्रोशित भएका थिए।

पीडित बालिका दलित समुदायकी रहेकाले यो घटनामा अधिकांशले चासो देखाएनन्। दलित बस्तीका महिलाको जीवन नरक जस्तो भए पनि त्यस सम्बन्धमा कुनै किसिमका चासो नदेखाई उनीहरूको जीवन शैली नै त्यस्तै हो भनेर ग्रामीण क्षेत्रका कतिपय मानिसले भन्ने गर्छन्।

पीडितको उमेर १० वर्षभन्दा कम भएको अवस्थामा बलात्कारमा संलग्नलाई दिइने अधिकतम सजाय १६ वर्ष जेल सजायबाट बढाएर २० वर्ष पुर्‍याइए पनि रौतहटका दलित महिला र बालबालिका पीडित नै छन्।

यसैगरी गत साउनमा दाइजोको रकम ७० हजार बाँकी रहेका कारण बेहुलीको घाँटी थिचेर रौतहटमा हत्या गरिएको थियो। रौतहटको वृन्दावन नपा–६ मा दाइजो नभए गरिबकी छोरी बेहुली नै बन्न नहुने जस्तो घटना बाहिरियो।

सन्जुको गत असार ६ गते परम्परागत रूपमा विवाह भएको थियो।​ चन्देश्वर दासको घरमा बुहारी बनेर आएकी सन्जुकुमारीलाई बिनाकसुर घाँटी थिचेर हत्या गरियो। बिहे भएको एक महिना नपुग्दै दाइजो कम ल्याएकी अलच्छिनी जस्ता अशब्द प्रयोग गरी कटहरिया- ५ माइती भएकी सन्जुको घाँटी थिचेर हत्या गरिएको थियो।

छोरीको बिहेको मारमा परेका आमाबुवाले छोरीको मृत्यु भएको खबर सुनेलगत्तै मृतक छोरीको घर गए पनि घर  पुग्नुअघि नै मृतक सन्जुको दाह संस्कार गरियो।

दाइजोको जम्मा ७० हजार रुपैयाँ र मोटसाइकल बाँकी रहेका कारण श्रीमान् सहित सबैजनाको मिलिभगतमा बिहेको २७ दिन नबित्दै छोरीको हत्या भएको भन्दै मृतक सन्जुका आफन्तले इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिन गए। उक्त निवेदन प्रहरी कार्यालयमा दर्ता हुन सकेन।

पोष्टमार्टमको रिपोर्ट नभएसम्म निवेदन दर्ता हुँदैन भन्दै जाहेरी दिन गएका पीडितलाई प्रहरीले जवाफ दियो। दाह संस्कार भएको शवको परीक्षण कहाँबाट गर्ने भन्दै आमाबुवाले आफ्नी मृतक छोरीलाई न्याय दिलाउन नसकेको भन्दै दुःख व्यक्त गरेका थिए।

आर्थिक रूपमा कमजोर रहेका उनीहरूले दिएको उजुरी समेत प्रहरीले दर्ता गर्न मानेन।

तराईका ग्रामीण क्षेत्रमा र दलित समुदायका महिलालाई चुलो बाल्ने अनि आफ्नो परिवारकै खुशी आफ्नो खुशी र घरको इज्जत मानमर्यादामा बस्ने नै असल महिला हुन् भन्ने मान्यता राख्ने कुप्रथा देखिन्छ। घरमा पुरुषले निर्णय गरेको मात्रै उचित रहने बताइन्छ।

दलित बस्तीमा वैदेशिक रोजगारीका लागि विदेश गएका पुरुषका महिलालाई चरित्रहीन भनेर सम्बोधन समेत गर्ने गर्छन्।

त्यसैगरी बारामा एक १२ वर्षीया बालिकालाई बलात्कृत गरेको आरोपमा रौतहटका एक युवक गत वैशाख २० गते पक्राउ परे। करणी आरोपमा जिल्लाको कटहरिया नपा-७ बगहीका २० वर्षीय अफ्रोज अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

बलात्कृत बालिकाका परिवारले न्यायका लागि गुहार गरे पनि घटना पुरानो हुँदै जाँदा आरोपी दण्डित भएनन्। तराईका महिलाले यस्ता घटनामा खुलेर भन्न नसकेकाले उनीहरूको जीवन कष्ट कर बनेको छ।

तराईका ग्रामीण क्षेत्रमा दलित समुदायका महिला भन्छन्‚ ‘घरेलु हिंसा, लैङ्गिक विभेद, यौनहिंसा, छुवाछुत‚ अन्धविश्वास जस्ता कुरीति समाजमा रहेसम्म हामी स्वतन्त्र हुन सक्दैनौँ तर पहिलादेखि चल्दै आएको सामाजिक नियम पनि ग्रामीण महिलाका लागि बाध्यताको रूपमा देखिन्छ।’

तराईका ग्रामीण क्षेत्रमा सबैभन्दा बढी पीडित महिला दलित समुदायमा देखिने गर्छन्। दलित समुदायमा प्रायः सबैभन्दा पहिला देखिने समस्या आर्थिक रूपले देखिन्छ। दलित बस्तीका महिलालाई सामाजिक कुरीति (छुवाछुत)का कारण शिक्षाबाट वञ्चित भएका छन्। धार्मिक स्थलमा जान हुँदैन भनी अपमानित गरिन्छ।  

तराईका ग्रामीण क्षेत्रमा लैङ्गिक समानता सुनिश्चित नगरिएसम्म विभेद, हिंसा र महिलाविरुद्धका कुरीति नियन्त्रण हुन चुनौती देखिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.