|

सुर्खेत : नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ।

नेपाल वायुसेवा क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान थपिएको हो। यात्रुको चाप बढ्नु तथा सडक यातायात सहज नभएका कारण उडान थप्नु परेको श्रेष्ठले बताए।

हुम्लाको सिमकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान शुरु गरिएको छ। अब आइतवार, सोमवार र मंगलवार उडान हुनेछ। भाडा ९ हजार १७० रुपैयाँ निर्धारण गरिएको छ। चार्टर उडानको १३ हजार २२० रुपैयाँ लाग्नेछ। यसअघि सिमकोटका लागि शनिवार र आइतवार मात्रै उडान भर्ने गरिएको थियो।

त्यसैगरी जुम्लामा नेपालगञ्जबाट सोमवार र मंगलवार उडान हुनेछ। भाडा ६ हजार २८० रुपैयाँ तोकिएको छ। त्यसैगरी मुगुको ताल्चाका लागि आइतवार र मंगलवार उडान तालिका रहेको छ भने भाडा ७ हजार ४०० रुपैयाँ छ। डोल्पाको जुफालका लागि हप्तामा दुई दिन सोमवार र बुधवार उडान हुनेछ। नेपालगञ्जबाट डोल्पाको भाडा ६ हजार ८०५ रुपैयाँ निर्धारण गरिएको छ।

बाजुराको कोल्टी विमानस्थलका लागि सातामा सोमवार र बुधवार उडान हुनेछ भने भाडा ६ हजार ९७५ रुपैयाँ कायम गरिएको छ।

नेपाल वायुसेवाले चार्टर उडान नभई नियमित उडान भर्ने भएकाले भाडा सस्तो हुने गर्छ।

यी जिल्लामा उडान भर्नका लागि यसअघि नेपाल वायुसेवाको जहाज हप्तामा एक रात नेपालगञ्जमा रहने गरेकोमा अहिले तीन रात बस्दै आएको छ। उडान पनि नियमित रूपमा भइरहेको र यात्रुलाई पनि भाडादरमा सहज भएको नेपाल वायुसेवाले जनाएको छ।

निजी वायुसेवा कम्पनीले उडान भरे पनि भाडा चर्को रहेको छ। हिमाली जिल्लामा सडक पहुँच सहज नहुँदा यहाँका यात्रुले हैरानी भोगेको गुनासो आएपछि उडान संख्या थपिएको हो। हुम्ला सडक सञ्जालसँग जोडिएको छैन।

हिमाली जिल्लामा चिसो समेत भारी मात्रामा बढेको स्थानीय बासिन्दाले बताएका छन्। सरकारी कम्पनीले उडान बढाएपछि यात्रुलाई सहज भएको मुगुकी रामदेवी खड्काले बताइन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.