|

पर्वत : ‘हामी विद्यालय जाँदा त्यो आसपासको क्षेत्रमा पानी थिएन। स्कुल नजिकै एउटी आमाले बिहानै डोकोमा गाग्री राखेर पानी ल्याउनुहुन्थ्यो। एक घण्टा उकालो चढेर गएका हामी त्यही पानीले तिर्खा मेटाउँथ्यौँ’, शंकरपोखरीको त्रिभुवन मा.वि.मा अध्ययन गरेर त्यहीँ शिक्षण गर्दै आइरहेका शिक्षक प्रकाश शर्मा रेग्मी भन्छन्, ‘बर्खाको वेला आकाशको पानी जम्मा गरी घैँटामा राख्ने। त्यसैलाई फिल्टर गरेर खाने। कोहीले आधा घण्टा यात्रा गरेर डोकोमा बोकेर ल्याएर खाने। यहाँ एउटा मिनरल वाटर अरूलाई सहयोग गर्न सकिएला तर झुक्किएर पानी पोखियो भने पनि पछुतो हुन्छ।’

शंकरपोखरीको क्षेत्रमा संघीय सांसद पुगून् कि प्रदेशसभा सदस्य‚ जिल्लाका नेता पुगून् कि वडा तहका। स्थानीय बासिन्दाको सधैँको माग एउटै हुन्थ्यो, ‘तपाईँले भनेको मान्दै आएका छौँ। अब त पानी पिलाउनुहोस्। यो जमानामा पानी खान नपाएर काकाकुल भइयो।’

शंकरपोखरीमा भए जस्तो पानीको समस्या अन्त शायदै होला। बिहान चारै बजे उठेर कुवा, इनारमा पङ्क्तिमा बस्ने गृहिणी र पानीको खोजीमा जाँदा विद्यालय जाने समय नपाएका विद्यार्थी सबैको पीडा उस्तै छ। पिउने पानी त नपाइने शंकरपोखरीको विभिन्न टोलमा सरसफाइ र चौपायाका लागि पानीको व्यवस्थापन गर्नु निकै कठिन कुरा हो। शंकरपोखरी क्षेत्र डाँडामा रहेकाले पानीका स्रोत छैनन्। स्याङ्जाको नजिकै पर्ने डहरे देउरालीबाट पाइपमा आउने पानी बाँडिचुँडी खानुपर्ने बाध्यता छ।

यस्तो समस्या भोगिरहेको शंकरपोखरीले अब एक महिनामा घर–घरमा र टोल–टोलमा पानीको धारा पाउनेछ। निर्माण हुन लागेका १ हजार १३१ वटा धारामा जुनसुकै वेला पनि पानी आउनेछ। जीवनभर पानीको सपनामा बाँचेका उनीहरूको सपना पूरा हुनेछ। अब नुहाउनका लागि एक हप्ता समय सार्नुपर्ने छैन।

गण्डकी प्रदेश सरकारले १८ करोडको लागतमा २०७५ सालबाट निर्माण शुरु गरेको ‘बृहत् शंकरपोखरी खानेपानी तथा लिफ्ट आयोजना’को काम पूरा हुनै लागेको छ। २० प्रतिशत स्थानीय बासिन्दाको जनश्रमदानमा बन्दै गरेको खानेपानी आयोजनाको सबै काम माघभित्र पूरा हुने आयोजनाका अध्यक्ष शिव तिवारीले बताए। 

बहुवर्षीय आयोजनाअन्तर्गत लमाए खोलाको पानी लिफ्ट प्रविधिमार्फत तानेर शंकरपोखरीका विभिन्न गाउँमा बाँडिनेछ। बेसीमा पर्ने लमाए खोलाबाट शंकरपोखरी र थापाठानाको उच्च भागमा रूपमा रहेको लिमिकोटसम्म ६४५ मिटर लामो पाइप राखेर खोलाको पानी ‘लिफ्ट’मार्फत तानिएको छ।

पानी वितरण गर्ने क्षेत्रको अग्लो स्थान लिमिकोट भएकाले त्यही ठाउँबाट शंकरपोखरी र थापाठानाका विभिन्न टोलमा पानी पठाउन लागिएको हो। केही दिनअघि गरिएको परीक्षणमा ‘लिफ्ट’बाट पानी सहजै चढेपछि पानीको सपना पूरा हुन लागेको हो।

‘लगातार केही दिनको परीक्षण गर्दा लमाए खोलाको पानी शंकरपोखरीमा रहेको ट्यांकीमा चढ्यो। कति पानी आइरहेको छ भन्ने कुरा केही दिनमा थाहा हुन्छ। प्राविधिकहरूले प्रतिसेकेन्ड ८ लिटर आएको हुनुपर्ने भन्नुभएको छ। मुख्य काम पूरा भएको छ। अब त धारा बनाएर ट्यांकीको पानी धारामा पठाउने काम बाँकी छ’, अध्यक्ष तिवारी भन्छन्, ‘विद्युत् लाइनमा समस्या‚ पाइपमा चुहावट हुने जस्ता आउलान् कि भन्ने पीर थियो। परीक्षण गर्दा एकैपटकमा पानी माथि आयो। कहीँ पनि प्राविधिक समस्या आएन‚ अब सामान्य काम मात्रै बाँकी छन्।’

पञ्चवर्षीय योजनाका रूपमा चलेको आयोजनाको काम अहिले चौथो वर्षमा चलिरहेको छ। ‘लिफ्ट’बाट पानी खस्ने मुख्य ट्यांकीबाट पानी जाने शाखा ट्यांकी निर्माण पूरा भइसकेको छ। सातवटा शाखा ट्यांकीबाट जडान गरिने ‘च्याम्बर’बाट १ हजार १३१ वटा धारामा पानी पठाइनेछ। अब ‘च्याम्बर’ निर्माण र धारा निर्माण बाँकी रहेको र त्यो काम एक महिनामा पूरा हुने आयोजनाका सचिव कमल भुसालले बताए।

‘फलेवास नगरपालिका-२ थापाठानाकोदुर्बुटी, सिम्ले, घैयार, शंकरपोखरीको साविकको ९ नं. बाहेक सबै वडामा यो पानी पुग्छ। यो वर्ष प्रदेशबाट २० लाख रुपैयाँ मात्रै आएकाले काम अघि बढ्न सकेन। निर्माण कम्पनीलाई  ४०-४५ लाख तिर्न बाँकी रहँदा पनि काम सक्न लागेका छौँ’, उनले भने, ‘एक हप्ताभित्र घर–घर र टोलमा धारा निर्माण शुरु हुन्छ। उपभोक्ताले त पुराना धारामा हालेर भए पनि पानी खाइहालौँ भन्नुभएको छ। यता लिफ्ट चलेसँगै विद्युत् खपत भएको छ। समितिसँग पैसा छैन। कुनै ठाउँमा १५ घरको एक धारा छ त कहीँ एक घरको एक धारा छ। पानी वितरणलाई कसरी मिलाउने, रकम उठाउने कुरा कसरी गर्ने भन्ने बारेमा निर्णय भएको छैन।’

नयाँ ट्यांकी र धारा बन्ने काम माघसम्म पूरा हुने भएकाले त्यसअगाडि नै गाउँमा रहेका पुराना ट्यांकीमा पानी खसालेर भए पनि जतिसक्दो छिटो उपभोक्तालाई सहज पार्न खोजिएको सचिव भुसालले बताए। शंकरपोखरीवासी पानीका लागि तड्पिरहेका कारण तत्कालका लागि पुराना ‘सप्लाई’मा पानी हाल्न लागिएको उनको भनाइ छ।

‘लिफ्ट’को पानी शंकरपोखरीका ७४६ घरमा पुग्नेछ। बाँकी थापाठानाको घैयारतिरको क्षेत्रका घरमा लिफ्टको पानी यही आयोजनाले काम गर्नेछ। धारा निर्माणको काम सकेपछि करिब पाँच हजार व्यक्तिलाई सहजै पानी आपूर्ति हुने वडाध्यक्ष अर्जुनबहादुर कार्की बताउँछन्। वर्षौँदेखि पानीको समस्यामा रहेका शंकरपोखरी र थापाठानावासीको पानीको समस्या हल हुनु उनीहरूको प्रमुख समस्या हल हुन लागेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.