|

काठमाडौं : ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ?’ अभियान फेरि शुरु गरेको छ। यति वेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरी ‘मास्क खोइ’ लेखिएका सचेतनामूलक प्ला-कार्ड बोकी सडकमा खटिन थालेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्ला-कार्ड र सचेतनामूलक काम पुनः सञ्चालन गरेको बताए। 

‘अहिले धेरै जनाले मास्क लगाउन छाडीसक्नु भएको छ। छिमेकी मुलुकमा देखिएको कोभिड–१९ को महामारीको जोखिममा हामी पनि छौं, उनले भने, “त्यसैले मास्क प्रयोग गर्न नबिर्सौं भन्ने चेतनाका लागि प्ला-कार्डको प्रयोग गर्ने र उहाँहरूलाई सुझाव दिइरहेका छौं।’ 

मंगलबार काठमाडौँ जिल्ला कार्यालय जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले सार्वजनिक स्थान र सवारीसाधनमा हिँड्नेलाई सुुसूचित गर्ने र जनचेतना फैलाउनेसम्बन्धमा छलफल भएको थियो। ट्राफिक प्रहरीले सोही छलफलपछि मास्क प्रयोग गरौं भन्ने सन्देश दिइरहेको उनले बताए। 

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी देवी पाण्डे खत्रीले अहिले नयाँ भेरिएन्टको संक्रमण नदेखिए पनि उच्च सतर्कता अपनाउन मास्क प्रयोग बढाउन र रोगको रोकथामकारे सचेतना बढाउन आग्रह गरिएको बताए।

‘गृह मन्त्रालयले सूचना पनि प्रकाशित गरेको थियो, त्यसपछि डिडिएमसीको बैठकमा जिल्ला समन्वय समितिको प्रमुख, समन्वय अधिकारी, प्रमुख जिल्ला अधिकारी तथा स्वास्थ्य कार्यालय प्रमुखहरूसँगको छलफलपछि स्वास्थ्य सतर्कता मापदण्ड पालना बढाउने निर्णय गरेका थियौँ,’ उनले भने।

छिमेकी चीन र भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरिएन्ट बीएफ पोइन्ट सेभेन (बीएफडट७) हालसम्म नेपालमा पुष्टि नभए पनि जोखिम उच्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले बताए। 

‘छोटो समयमा धेरै व्यक्तिलाई संक्रमण फैलाउन सक्ने यो भेरिएन्ट हाम्रो खुल्ला सिमाना र आवतआवतका कारण नेपाल भित्रिने जोखिम कायम छ,’ उनले भने। उनका अनुसार मन्त्रालयले पहिचान रोकथाम र नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि तीनै तहका सरकारको सहकार्यका लागि अनुरोध गर्दै आएको छ। ‘अहिले सीमा नाका र अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिनेहरूको ज्वरो नाप्ने र शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण भइरहेको छ,’ उनले भने। 

सिँगान बग्ने, हाच्छ्युँ धेरै आउने, ज्वरो, खोकी लाग्नुका साथै घाँटी‚ टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या आउने तथा स्वाद हराउने कोभिड–१९ का मुख्य लक्षण हुन्। तर कतिपय अवस्थामा लक्षणका आधारमा सामान्य रुघाखोकी, फ्लू र कोभिड–१९ बीचको भिन्नता छुट्याउन नसकिने डा ठाकुर बताउँछन्। 

‘कोभिड–१९, रुघाखोकी वा फ्लूलाई लक्षणका आधारमा भिन्नता छुट्याउन गाह्रो हुन्छ। कोभिड–१९ भए नभएको थाहा पाउने सबैभन्दा उत्तम उपाय भनेकै स्वास्थ्यकर्मीको सल्लाहमा यसको परीक्षण गर्नु हो,’ उनले भने।

उनले चाडपर्व मनाउँदा भीडभाड नगर्ने, भौतिक दूरी कायम गर्ने, मास्कको प्रयोग‚ साबुन पानीले हात धुने, हाच्छयुँ गर्दा मुख छोप्ने र सेनिटाइजरको प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्। कोभिड-१९ विरुद्धका दुवै मात्रा खोप प्रयोग गरिसकेकाले अतिरक्त मात्रा वा बुस्टर खोप लगाउन उनको सुझाव छ। 

तथ्याङ्कअनुसार हालसम्म २ करोड २३ लाख २४ हजार ९३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। साथै ७९ लाख ७२ हजार ७९१ जनाले मात्र अतिरिक्त मात्रा खोप लगाएका छन्। मन्त्रालयले  सबैमा खोपको पहुँच, एकीकृत र सुदृढ रोग निगरानी र महामारी प्रतिकार्यका लागि निरन्तर प्रयास गर्दै आएको प्रवक्ता डा ठाकुरको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.