|

सल्यान : सल्यानको बागचौर नगरपालिकाले वडास्तरबाटै योजना सम्झौता शुरु गरेको छ। पालिकाले उपभोक्ता समितिको बैंक खाता पनि वडामै खोल्ने व्यवस्था मिलाएको छ।

एकीकृत योजना सम्झौता तथा उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण कार्यक्रम गरेर योजनाहरू अब वडाबाटै सम्झौता गर्ने कार्यको थालनी गरेको नगर प्रमुख जनकराज गौतमले जानकारी दिए।

वडा न १२ मा योजनाहरूको सम्झौता र बैंक खाता सञ्चालनको थालनी गरिएको उनको भनाइ छ। उक्त वडामा १२ वटा योजनाको योजना सम्झौतासँगै बैंक खातासमेत खोलिसकेको नगरपालिकाले जनाएको छ।

उपभोक्ताको सहजताका लागि वडास्तरमै सम्झौताको थालनी गरिएको गौतमले बताए। पहिले नगरपालिकासम्म पुगेर सम्झौता गर्दा असहज र खर्चिलोसमेत हुने गरेको थियो।

नगरपालिकाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार गौतमले बताए।

एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्था अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्न सघाउ पुग्ने भएकाले वडा–वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको उनले बताए।

नगरका सबै वडाहरूमा एकीकृत योजना सम्झौता तथा उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने नगरले जनाएको छ। दिगो र प्रभावकारी योजनाका लागि अनुगमन पनि महत्वका साथ अघि बढाउने नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.