काठमाडौं : नेपाल चिनाउने कला, तस्विर, गीत–संगीत, इतिहासलगायत श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन्। मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री ‘अडियो फरम्याट’ माध्यममा ‘मेमोरी चिप’मा राखेर अन्तरिक्षमा पुर्याइने छ ।
शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्रह पठाउने तयारी भइरहेको हो।
स्ट्रिट आर्टिस्ट किरण महर्जनले मुनाल भू–उपग्रहको अभियानमा आफ्नो समूहले नेपाल चिनाउने थाङ्का, पौवा र आधुनिक चित्रकलालाई समावेश गरेको जानकारी दिए। श्रव्यदृश्य सामग्री उत्पादन र भू–उपग्रहमा राख्ने काममा राजन श्रेष्ठ र किरण महर्जन लागेका छन्। महर्जनले नेपाली श्रव्यदृश्य अन्तरिक्षमा गएको यो पहिलो पटक हुने दाबी गरे।
अन्तरिक्ष प्रतिष्ठानका संस्थापक नेपाली वैज्ञानिक डा. आभाष मास्केले अन्तरिक्षमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री पठाउने कुरा आफैँमा नौलो विषय भएको बताए। ‘हामीले यसो गर्नुका पछाडि कलाकारिताका क्षेत्रमा भएका व्यक्तिलाई भू–उपग्रहको निर्माणमा जोड्नु हो’, उनले भने, ‘यसरी श्रव्यदृश्यलाई अन्तरिक्षमा पठाउनु भनेको नेपालका कला, संस्कृति र इतिहासलाई सांकेतिक रूपमा सम्मान पनि हो।’
यी दुई स्याटेलाइट निर्माण तथा उडानको नेतृत्व नास्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्रप्रसाद ढकाल र अन्तरिक्ष प्रतिष्ठानबाट मास्केले गरेका छन्। मुनाल स्याटेलाइट परियोजनाअन्तर्गत थाइल्याण्डका चार र नेपालका ९ विद्यार्थी सहभागी छन् । उनीहरूलाई आठ जनाको वरिष्ठ टोलीले प्रशिक्षण र निगरानी गरिरहेको छ । उनीहरूलाई इन्जिनियर जनार्दन सिलवालको नेतृत्वमा रहेको टोलीले ‘मेन्टरिङ’ गर्ने गरेको छ ।
डाँफे मिसन थाइल्याण्डको इन्टरनेसनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभलपमेन्ट (इन्स्टेड) सँगको सहकार्यमा तयार भइरहेको छ । डाँफे र मुनाल अभियानका लागि नास्टले एक करोड रुपैयाँ विनियोजन गरेको छ। डा। ढकालले डाँफे नास्टका तर्फबाट नेतृत्व गर्ने अभियान र मुनाल काठमाडौँ हाइस्कुलका विद्यार्थीले बनाएको अभियान भएको बताए। यीमध्ये सबैभन्दा पहिला डाँफे उड्ने बताइएको छ।
मास्केले मुनाल भू–उपग्रहमा श्रव्यदृश्य दुवै सामग्री अडियो माध्यममा पठाइने जानकारी दिए। यसरी पठाइएको ध्वनि सामग्रीलाई कसरी डिकोडिङ (पहिलाको स्वरूपमा फिर्ता ल्याउने) भन्ने कुराको जानकारी स्याटेलाइटको बोर्डमा उल्लेख गर्ने उनले बताए। नास्टका प्रविधि संकाय प्रमुख ढकालले नेपाल मेगा स्याटेलाइटको तयारीमा रहेकाले नेपालको आफ्नै अन्तरिक्ष अनुसन्धान केन्द्रको आवश्यक रहेको बताए। उनले अन्तरिक्ष अनुसन्धान केन्द्रका लागि नास्ट प्रारम्भिक तयारीमा जुटेको जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।