|

पर्वत : पोखरामा जारी २२ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा संकटा क्लबले डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफ क्लबमाथि चार गोलको वर्षा गरेको छ।

दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यमा रहेको एपीएफले क्वार्टरफाइनल खेलमा धरान फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सेमिफाइनलको यात्रा तय गरेको थियो। बुधवारको सेमिफाइनल खेलमा पहिलो हाफमा २ गोलको अग्रता लिएको संकटाले खेलको दोस्रो हाफमा अग्रता दोब्बर पार्दै ४ गोल अन्तरले एपीएफलाई स्तब्ध पारेको हो।

प्रभावशाली खेल प्रदर्शन गरेको संकटाका लागि खेलको चौथो मिनेटमा स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन्। मेसुके ओलामाउको पासको पासलाई रिसिभ गर्दै बललाई उनले ‘वन एन्ड वन’को स्थितिमा विपक्षी गोलपोस्टको जाली चुमाएका हुन्।

खेलको ४२ औँ मिनेटमा मेसुके ओलामाउले व्यक्तिगत पहिलो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। उनले स्टेफनको पासमा लामो प्रहार गर्दै गोल गरेका हुन्। खेलमा एपीएफले पटक–पटक अवसर पाए पनि सदुपयोग गर्न भने सकेन।

खेलको ६० औँ मिनेटमा फेरि पनि स्टेफन बिनोङलेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई ३–० मा लगे। उनले टिमका डिफेन्स आन्द्रे बियिकले दिएको लामो पासलाई बिनागल्ती सुन्दर फिनिसिङ दिएका हुन्।

गोल अन्तरका कारण आक्रामक रूपमा खेलेको एपीएफका लागि ७३ औँ मिनेटमा हरि कार्कीले सान्त्वना गोल भने गर्न सफल बने। बिकु तामाङले डिबक्स क्षेत्रबाट दिएको छोटा पासलाई कार्कीले गोलमा परिणत गरेका हुन्। एपीएफले पाएको सान्त्वना गोलको खुसी लामो समय टिक्न भने सकेन। ८५ औँ मिनेटमा संकटाकै मेसुकेले अर्को गोल गर्दै गोलान्तरलाई फराकिलो पारे।

नयाँ खेलाडीको साथमा प्रतियोगितामा आएको संकटाले २०७७ सालमा भएको संस्करणमा पनि सेमिफाइनलमा एपीएफलाई हराएको थियो। गोल्डकपको हालसम्मको यात्रामा एकपटक मात्रै ‘च्याम्पियन’ को स्वाद चाखेको संकटा क्लबले योपटक राम्रो प्रदर्शन गरिरहेको छ।

सेमिफाइनलको दोस्रो खेल बिहीबार हुँदै छ। जसमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र विदेशी पाहुना टोली भुटनिज यूथ स्पोर्टस् क्लब, मिनेसोटा अमेरिकाबीच खेल हुँदै छ। बुधवारको खेल जितेको संकटा र बिहीबार हुने सेमिफाइनल खेलबाट विजेता बनेर फाइनलमा प्रवेश गर्ने टोलीबीचको फाइनल खेल पुस २३ गते हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.