|

हेटौंडा : बागमती प्रदेशमा ७० अंक ल्याए सवारीचालक अनुमतिपत्रको (लाइसेन्स) ट्रायल पास हुने प्रणाली कार्यान्वयन तेस्रोपटक रोकिएको छ। 

मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष हस्तक्षेपका कारण ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने प्रणाली कार्यान्वयन बागमतीमा तेस्रोपटक रोकिएको हो। प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कारण यसअघि दुईपटक यो प्रणाली लागू हुँदाहुँदै रोकिएको थियो।

मुख्यमन्त्री पाण्डेको हस्तक्षेपका कारण दुईपटक रोकिएको यो प्रणाली बुधवारबाट लागू गर्ने तयारी गरिएको थियो। फेरि एकपटक मुख्यमन्त्री कार्यालयको हस्तक्षेपले उक्त प्रणाली कार्यान्वयन हुन रोकिएको छ।

बागमती प्रदेशको काम चलाउ सरकारको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रायल सेन्टर सञ्चालन गरिरहेका यातायात कार्यालय प्रमुखहरू बुधवारबाट ७० प्रतिशत प्रणाली लागू गर्न सहमत भएकोमा मुख्यमन्त्री कार्यालयको हस्तक्षेपका कारण लागू हुँदाहुँदै फेरि रोकिएको बताए।

‘आजबाट यो प्रणाली लागू गर्न ट्रायल सेन्टर सञ्चालन गरिरहेका यातायात कार्यालय प्रमुखहरू सहमत हुनुहुन्थ्यो तर मुख्यमन्त्रीको हस्तक्षेपका कारण तेस्रोपटक यो प्रणाली लागू हुँदाहुँदै रोकियो’, थाहाखबर कुरा गर्दै दाहालले भने।

उनले बुधवारबाट लागू हुने तयारीमा रहेको ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली कार्यान्वयन नगर्न मुख्यमन्त्री कार्यालयले यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाएको बताए। यसअघि असोज २ गते र मंसिर १८ गतेबाट उक्त प्रणाली लागू गर्ने भनिएपछि मुख्यमन्त्री पाण्डेकै निर्देशनमा रोकिएको थियो।

नेपालका ४ वटा प्रदेशमा लागू भइसकेको प्रणाली बागमतीमा मात्रै पटक–पटक हस्तक्षेप गरेर पाण्डेले रोकेको उनको आरोप छ।

‘ट्रायल फेल हुनेहरूले पटक–पटक ट्रायल दिनुपर्ने र पास नभए गलत बाटोबाट लाइसेन्स लिने खालको समस्या यो प्रणाली लागू हुँदा समाधान हुन्छ। यसलाई कार्यान्वयन गर्न मुख्यमन्त्रीले दिनुभएन’, उनी भन्छन्।

मन्त्री दाहालले मुख्यमन्त्रीसँगको सल्लाहमा नै शुरुवातमा उक्त प्रणाली कार्यान्वयन गर्न खोजिएको भन्दै उक्त वेला हुन्छ भनेर सहमति दिएका पाण्डेले अहिले किन पटक–पटक लागू नगर्न निर्देशन दिए भन्नेबारे आफूले नबुझेको बताए।

उनका अनुसार यातायात व्यवस्था विभागले २०७८ सालमै उक्त कार्यविधि तयार पारेर प्रदेशलाई पठाए पनि लागू गरिएको थिएन। यो प्रणाली लागू भए प्रयोगात्मक परीक्षामा सहभागी हुनेले सामान्य गल्ती गरेमा अनुत्तीर्ण हुने समस्या हल हुने मन्त्री दाहालको दाबी छ।

दाहालले मुख्यमन्त्री कार्यालयले प्रणालीका विषयमा अध्ययन गर्ने भन्दै प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिवको संयोजनमा समिति गठन गरी तत्कालका लागि प्रणाली लागू नगर्न निर्देशन दिएको बताए।

४ सदस्यीय समितिलाई प्रणाली कसरी लागू गर्न सकिन्छ भन्नेबारे एक महिनाभित्र सुझावसहितको प्रतिवेदन दिन भनिएको उनले बताए। प्रणाली लागू गर्ने विषयमा मुख्यमन्त्री पाण्डे र मन्त्री दाहालबीच विगत केही महिनादेखि मनमुटाव चल्दै आएको छ।

कुनै पनि हालतमा कार्यान्वयन हुन दिन्नँ : पाण्डे

मुख्यमन्त्री पाण्डे कुनै पनि हालतमा यो प्रणाली लागू गर्न नदिने बताउँछन्। यो प्रणाली लागू भए सरकारले मान्छे मार्ने लाइसेन्स दिएको जस्तो हुने उनको भनाइ छ। रातो बत्ती बल्दा पनि ट्रायल पास गरेर लाइसेन्स वितरण गर्दा नेपालको लाइसेन्सको अन्तरराष्ट्रिय मान्यता गुम्ने पाण्डेले बताए।

‘रातो बत्ती बलेका वेला पनि कटाउन नसकेकालाई ट्रायल पास गरेर लाइसेन्स दिनु भनेको मान्छे मार्न लाइसेन्स दिनु हो। यस्तो गम्भीर कुरालाई बेवास्ता गरेर लाइसेन्स दिने यो प्रणाली कुनै हालतमा लागू हुँदैन’, थाहाखबरसँग कुरा गर्दै पाण्डेले भने। उनले बागमती प्रदेशमा यो प्रणाली लागू गर्न आफूले केन्द्रबाटै रोक लगाउने बताए।

प्रदेश सरकारको नेतृत्वबाट आफू बाहिरिए पनि केन्द्रमा गएर यो प्रणाली लागू गर्न नदिने पाण्डेको दावी छ। ‘यो विषयमा मैले यातायातमन्त्री घनश्याम दाहाललाई धेरैपटक भने तर मसँग मनमुटाव नै गरे’, पाण्डेले भने। उनले यसअघि मंसिरमा यो प्रणाली कार्यान्वयन गर्न नसक्ने भन्दै यातायातका सबै कर्मचारीले आफूलाई पत्र लेखेको दावी गरे।

‘जानी जानी यसरी लाइसेन्स दिनुहुँदैन भनेर मलाई कर्मचारीहरूले नै लिखित पत्र दिएका थिए’, पाण्डेले भने, ‘यो प्रणाली लागू गरेर लाइसेन्स वितरण गरे भोलि विदेश जाने हाम्रा छोराछोरीले नेपालको लाइसेन्सले उता काम पाउँदैनन्।’

मुख्यमन्त्री पाण्डेलाई ट्राफिक प्रहरीको एक उच्च अधिकारीले समेत यो प्रणाली लागू गर्न नहुने भन्दै पत्र लेखेका थिए। पत्रमा उनले र राजस्व ३० प्रतिशतले घट्ने, रातो बत्तीलाई बेवास्ता गरी १५ नम्बरमा परिणत गर्दा हाम्रो लाइसेन्सको अन्तरराष्ट्रिय मान्यता गुम्ने र लाइसेन्स संवेदनशील विषय रहेको भन्दै सहजीकरणको नाममा सती जान नहुने पत्रमा लेखेका छन्। पाण्डेलाई दिइएको पत्रमा उक्त अधिकारीले अन्तरराष्ट्रिय मान्यता भुल्न नहुने बताएका छन्।

उक्त प्रणालीमा के छ व्यवस्था ?

मापदण्ड लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १ सय तोकिएको छ। त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिनेछन्। प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अंकभार २० तोकिएको छ। दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन।

दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुईं टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ। साँघुरो फलेकको अंकभार १० तोकिएको छ।

साँघुरो फलेकमा खुट्टाले भुईंमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन्। निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ। टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ। त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन्। ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ।

ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ। निर्देशिकामा उबडखाबडको अंकभर १५ तोकिएको छ। एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ। एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन्।

त्यसैगरी उकालो (र्‍याप) को अंकभार २० तोकिएको छ। त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ।

कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १ सय तोकिएको छ। जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ। निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ (एट) को अंकभार २० तोकिएको छ।

दुईपटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन। दुईपटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ।

निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ। पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ।

त्यसैगरी युटर्नको अंकभार १० तोकिएको छ। टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ। अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन्। चारपांग्रे सवारीचालकलाई र्‍याम (उकालो)का लागि अंकभार १५ तोकिएको छ।

तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ।

ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ। त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.