|

रौतहट : पछिल्लो समय रौतहटका विभिन्न स्वास्थ्य चौकीमा  औषधिको चरम अभाव भएको छ। जिल्लाको वृन्दावन नगरपालिका अन्तर्गत रहेको सबै जसो स्वास्थ्य चौकीमा औषधिको अभाव भएको स्वयं स्वास्थ्यकर्मीहरू नै बताउँछन्।

नौ वटा वडा रहेका पालिका भित्रका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर समेत नहँदा सुत्केरी गराउन निजी तथा छिमेकी पालिका चन्द्रपुरको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाहरूको गुनासो छ।  वृन्दावनको विश्रामपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहे पनि त्यहाँ सेवा लिन सर्वसाधारण आउने गरेका छैनन्।

सो स्वास्थ्य चौकीमा आलु आर्थिक वर्षको करिब साढे पाँच महिनामा जम्मा ३१ जना महिला सुत्केरी भएको छ, जब कि सो पालिका भरीमा एउटा बर्थिङ सेन्टर मात्र छ। अहिले सो अस्पतालमा सुत्केरी हुन आउनेलाई औषधि अभावमा रिफर गर्नुपर्ने बाध्यता आएको सो अस्पतालका स्वास्थ्यकर्मीहरूको भनाइ रहेको छ।

औषधि अभावको विषयमा बुझ्न वृन्दावनका नगरप्रमुख विनोद प्रसाद कुर्मी र प्रमुख प्रासाशकीय अधिकृत खिमबहादुर भुजेलसँग सम्पर्क गर्दा उनीहरूको फोन उठ्न सकेन।

 यता जिल्लाको चन्द्रपुर नगरपालिकाका स्वास्थ्य संस्थामा पनि सरकारले निशुल्क दिने भनेका औषधी समेत पाउन छाडेपछि सर्वसाधारण मेडिकलबाट महँगो शुल्कमा औषधी किनेर खान बाध्य भएका छन्।

चन्द्रपुर नगरपालिकाले नगरभरीका स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारले निशुल्क उपलब्ध गराएका औषधिहरू समेत उपलब्ध गराउन नसकेका कारण स्वास्थ्य चौकीहरू सिटामोल वितरण गरेर बस्न बाध्य भएका छन्। चन्द्रपुर नगरपालिका- ९ मा रहेको डुमरिया स्वास्थ्य चौकीका प्रमुख जयलाल पंडितले नगरपालिकाको स्वास्थ्य शाखाले सर्वसाधारणले पाउने निशुल्क औषधी समेत नपठाएकाले समस्या भएको बताए।

डुमरिया स्वास्थ्य चौकीमा औषधीको नाममा सिटामोल मात्र रहेको पंडितको भनाइ छ। नगरपालिकाको स्वास्थ्य शाखाले औषधी आज आँउछ भोली आँउछ भनेको ३ महिना बित्दासमेत औषधी नआएको पंडितले गुनासो गरे।

चन्द्रपुर नगरपालिकाको डुमरिया स्वास्थ्य चौकीमा मात्र औषधी अभाव नभएर सबै जसो स्वास्थ्य चौकीमा नगरपालिकाको स्वास्थ्य शाखाले औषधी नपाएका कारण आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण मेडिकलबाट महँगो शुल्क तिरेर औषधी सेवन गर्न बाध्य छन्।

नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९१ प्रकारका औषधी निशुल्क पाउने बताएको भए पनि रौतहटका स्वास्थ्य संस्थामा सामान्य ज्वरो र रुघाखोकीको औषधी समेत सर्वसाधारणले पाउन छाडेका छन्।

चन्द्रपुर नगरपालिका- १० मा रहेको स्वास्थ्य चौकीमासमेत सिटामोल बाहेकको औषधी नभएको सो स्वास्थ्य चौकीका अहेव गोपालप्रसाद रामले बताए। चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख राजेश कुमार ठाकुरले आफुहरू औषधी खरिदको प्रकृयामा रहेको र आवको एक हप्तामा नगरका सबै स्वास्थ्य शाखामा औषधी पुग्ने बताए।

साधारण रूघाखोकी, ज्वरो तथा घाउ चोट लागेका बिरामीलाई समेत उपचार गर्ने औषधि स्वास्थ्य संस्थामा नभएको अहेव रामले बताए। ‘बिरामीहरू औषधि खोज्छन्, दिन सकिएको छैन, उनीहरूलाई सम्झाएर पठाउनै गाह्रो भो’, उनले भने।

चन्द्रपुर नगरपालिकाका स्वास्थ्य संस्थामा मात्र हैन जिल्लाभरकै स्वास्थ्य संस्थाहरूमा सरकारले निःशुल्क दिने भनिएका औषधिहरू उपलब्ध छैन।

पशु र मान्छे एउटै अस्पतालमा उपचार

जिल्लाको एक नगरपालिकामा पशु र मान्छेको एकै ठाउँमा उपचार हुने गरेको छ। रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका- १० मा रहेको स्वास्थ्य चौकीको भवनमा पशुको समेत उपचार हुने गरेको छ।

एउटै भवनको बाहिर गेटमा लेखिएको छ ,स्वास्थ्य चौकी चन्द्रपुर १० हर्दिया ,अनि भित्र अर्को बोर्ड राखिएको छ पशु सेवा केन्द्र हरैयाको कार्यालय।

एउटै भवनको एक साइडमा मान्छेको उपचार हुन्छ भने अर्को साइडमा पशुको उपचार हुने गरेको छ। सानो एउटै भवनमा मान्छे र पशुको उपचार हुने गरेकोले समस्या भएको स्थानीयको भनाइ रहेको छ। भवनको गेटमा स्वास्थ्य चौकी लेखिएको भए पनि भवनभित्र पशुसमेत (गाई) बाँधेर राखिएको देख्न सकिन्छ। एउटै भवनबाट मान्छे र पशुलाई स्वास्थ्य सेवा दिनु परेको कर्मचारीहरू बताउँछन्।

मान्छे र पशुको सेवा एकै ठाँउबाट दिँदा आफूलाई असहज भएको स्वास्थ्य चौकीका प्रमुख अहेव नवीन चौधरीले बताए।

नायव पशु सेवा प्राविधिक पिंकी चौधरीले भने एकै ठाउँबाट पशु र मान्छेको उपचार सेवा दिइरहेको र त्यसले कसैलाई कुनै फरक नपर्ने बताइन्।

चन्द्रपुर नगरपालिकाको पशु सेवा शाखा प्रमुख दुर्गाप्रसाद चिमोरियाले पशु र मान्छेको उपचार सेवा एकै ठाउँबाट दिन नमिल्ने बताउँदै अब चाँडै पशु उपचार केन्द्र अन्यत्र सार्नका लागि आफूले पहल गरेको बताए। तत्कालीन नगरप्रमुख रामचन्द्र चौधरीले उदघाटन गरेको सो भवन उदघाटन भएदेखि नै पशु र मान्छेको एकै ठाउँबाट उपचार सेवा हुँदै आएको छ।

सो भवनको २०७८ साल चैतमा उद्घाटन भएको थियो। तत्कालीन जनप्रतिनिधिको ठाँउको अभाव भएको भन्दै मान्छे र पशुको उपचार सेवा एकै ठाँउबाट संचालन गर्ने निर्णय गरेका थिए। स्थानीयले समेत स्वास्थ्य चौकीको भवनमा पशु उपचार केन्द्र संचालन नगर्नका लागि सम्बन्धित निकायसँग आग्रह गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.