बैतडी : बैतडीमा अपहेलित गाउँ/टोलका नाम परिवर्तन गरिन थालिएको छ। जिल्लाको पाटन नगरपालिकाले अपहेलित गाउँ/टोलका नाम परिवर्तन गर्न थालेको हो। नगरपालिकाले वडा नम्बर ५ र ६ मा रहेको अपहेलित गाउँका नाम परिवर्तन गरेको पाटनका नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए।
नगरपालिकाले अपहेलित गाउँ/टोलका नाम परिवर्तन गर्ने निर्णयअनुसार वडा नं ६ भित्रका ४ ओटा टोल र वडा नम्बर ५ को एउटा टोलको नाम परिवर्तन गरिएको छ। सम्बन्धित गाउँमै पुगेर स्थानीय नागरिकको भेला गरी गाउँ टोलका नाम परिवर्तन गर्न थालिएको हो।
पाटन नगरपालिका वडा नं ६ स्थित भट्टाड टोलको नाम परिवर्तन गरी बयलबाटा टोल राखिएको छ। भण्डारी गाउँ–भुल्यौडा टोलको नाम परिवर्तन गरी खसरबाटा टोल राख्ने निर्णय भएको छ। भुल्यौडाको टोलको नाम परिवर्तन गरी ढुंगेओखल टोल र औज्यौडा टोलको नाम परिवर्तन गरी तीलगाउँ टोल राखिएको छ।
यसका साथै वडा नं ५ वसन्तपुरभित्र रहेको ‘डुम्यौडा’ टोलको नाम परिवर्तन गरिएको छ। दलित जातिलाई इंगित गरेर राखिएको सो टोलको नयाँ नाम श्रृजना टोल राखिएको हो।
स्थानीयहरूको भेलामा छलफल गरेर टोलहरूको नाम परिवर्तन गरिएको नगरप्रमुख रावलको भनाइ छ। उनले भने, ‘कुनै जात, धर्म, सम्प्रदाय विशेषलाई होच्याउने गरेर राखिएका टोलको नाम परिवर्तन गरिरहेका हौं। गाउँको नामले वर्षौंदेखि सामाजिक विभेदलाई कायमै राखेको देखिएकाले परिवर्तन गर्ने निर्णय भएको हो।’
वडा भेला तथा विभिन्न सरकारी सूचनामा समेत प्रयोगमा आउने गरेर समुदायका नाम बदल्ने जनाइएको छ। नगरपालिकाले १० ओटै वडामा रहेका अपहेलित गाउँ/टोलका नाम परिवर्तन गर्ने जनाएको छ।
गत भदौमा पाटनमा बसेको अन्तरपालिका समन्वय बैठकले अपहेलित गाउँका नाम परिवर्तन गर्ने निर्णय गरेको थियो। त्यसपछि नगर कार्यपालिकाले पनि अपहेलित गाउँका नाम परिवर्तन गर्ने निर्णय गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।