|

काठमाडौँ : जेम्स क्यामरुनद्वारा लिखित तथा निर्देशित फिल्म अवतार : द वे अफ वाटर सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा परेको छ। चौथो हप्तामा प्रदर्शनरत फिल्मले बक्स अफिसमा १ अर्ब ५० करोड डलर जम्मा गर्दै दशौँ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। 

साथै जोसेफ कोसिन्सकीको निर्देशनमा बनेको टपगन : मोबरिकलाई पछि पार्दै वर्ष २०२२ को सबैभन्दा सफल फिल्म पनि अवतार २ बनेको छ। टम क्रुजको मुख्य भूमिका रहेको टपगनले १ अर्ब ४९ करोड डलर कमाएको थियो। अवतार माथि आएसँगै टपगन सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा १२ औँ नम्बरमा पुगेको छ। 

अवतार २ बक्स अफिसमा अहिलेसम्मकै सबैभन्दा सफल सावित भएको अवतारको सिक्वेल हो। सन् २००९ मा प्रदर्शन भएको फिल्मले बक्स अफिसमा २ अर्ब ९० करोड डलर कमाइ गरेको थियो। अवतार २ को प्रदर्शन पूर्वदेखि नै यसले नै अघिल्लो फिल्मको कीर्तिमान भंग गर्ने अनुमान थियो। अहिले सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा पहिलो नम्बरमा अवतार छ भने त्यसपछि क्रमशः एभेन्जर्स : इण्डगेम, टाइटनिक‚ स्टार वार्स : द फोर्स अवेकन, एभेन्जर्स : इन्फिनिटी वार, स्पाइडर म्यान : नो वे होम, जुरासिक वर्ल्ड, द लायन किङ र द एभेन्जर्स रहेका छन्। 

अवतार २ को कमाइको रफ्तार हेर्दा यसले २ अर्ब डलरको आँकडा सजिलै पार गर्ने देखिन्छ। अहिलेसम्म शीर्ष पाँच स्थानमा रहेका फिल्मले मात्रै बक्स अफिसमा २ अर्ब डलर कमाउन सफल भएका छन्। २ अर्ब डलरको आँकडा पार गर्ने पहिलो फिल्म सन् १९९७ को टाइटनिक हो। जसलाई क्यामरुले नै लेखन तथा निर्देशन गरेका थिए। 

क्यामरुन आगामी ६ वर्षभित्र अवतारका अरू तीन भाग प्रदर्शनमा ल्याउने तयारीमा छन्। यो शृंखला पाँच भागसम्म जाने बताइएको छ। फिल्ममा साम वर्थिङटन, जो साल्डाना, सिगोर्नी वेभर, स्टेफन लाङ, केट विन्स्लेट लगायतका कलाकारको मुख्य भूमिका छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.