पुन: परीक्षा लिनुको सबै कुरा खुलाउन मिल्दैन : त्रिवि

|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले समयमा नतिजा प्रकाशन गर्न नसकिरहँदा फेरि विद्यार्थीहरूको भविष्यमाथि गम्भीर खेलवाड गरेको छ।

गत माघ (०७८) महिनामा सञ्चालन भएको व्यवस्थापन संकायको बिबिएस चौथो वर्षको रिसर्ज म्याथोलोजी विषयको २ सय ७ जना विद्यार्थीको पुन: परीक्षा लिने गरी त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा तालिका सार्वजनिक गरेको छ।

तालिकाअनुसार चौथो वर्षको सि.न ७०२०२०००१ देखि ७०२०२०२५२ सम्मका परीक्षार्थीहरूको रिसर्ज म्याथोलोजी विषयको परीक्षा यही पुस २४ गते बिहान ८ बजेदेखि पुन: परीक्षा हुने भएकाले दमक क्याम्पस परीक्षा केन्द्रमा अनिवार्य उपस्थित हुनुपर्ने छ।

त्रिविले पहिला लिएको परीक्षाको उत्तरपुस्तिका हराएपछि पुन: परीक्षा दिन लगाएको भन्दै परीक्षार्थीहरू विरोधमा उत्रिएका छन्। दमक क्याम्पसका एक शिक्षकले त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट पुन: परीक्षा लिन निर्देशन दिएकाले आफूहरूले पनि सूचना जारी गरेको जानकारी दिए।

‘के कारणले पुन: परीक्षा दिन लगाएको भन्ने बल्खुमै बुझ्नु,हामीलाई परीक्षा लिनु भन्ने निर्देशन आएपछि सूचना जारी गरिएको हो,’ती शिक्षकले भने।

कारण खुलाउन मिल्दैन : त्रिवि

यता, त्रिविले किन पुन: परीक्षा दिन लगाइँदै छ भन्ने प्रश्नमा कारण खुलाउन नहुने तर्क गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह-नियन्त्रक साधुराम अर्यालले थाहाखबरसँग भने,‘परीक्षामा गडबड भयो होला,यस्तो समस्या अहिले मात्र होइन यसअघि पनि भएका हुन्,तै पनि सबै विद्यार्थीलाई होइन दमक क्याम्पस परीक्षा केन्द्रमा पहिला लिएका २०७ जनाको मात्रै लिनु भनेका छौँ,कहिलेकाहीँ यस्तै हुनसक्छ।’

उत्तरपुस्तिका हराएपछि परीक्षा लिन लागिएको हो? भन्ने  थाहाखबरको प्रश्नमा उनले जवाफ दिएनन्। ‘सबै कारण भन्न सकिन्न,केही न केही गडबड भएर नै परीक्षा गर्न लागिएको हो,’यति भन्दै उनी पन्छिए। उनका अनुसार यो विषयको परीक्षा गत माघमा सञ्चालन भएको थियो। पहिला परीक्षा दिएका कतिपय विद्यार्थीहरू अन्यन्त्र (देशबाहिर) गइसकेका हुन सक्ने भएकाले छोटै समयमा हुने पुन: परीक्षा दिनबाट छुट्ने देखिन्छ। तर,त्रिविले यो विषयलाई सामान्य रूपमा लिएको छ। 

वर्षदिन बित्दा पनि प्रकाशित हुँदैन नतिजा 

यस घटनाबाट त्रिविले परीक्षा लिएकाहरूको उत्तरपुस्तिकासमेत सुरक्षित गर्नै नसकेको देखिन्छ। त्यस्तै, परीक्षा भइसकेको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि त्रिविले व्यवस्थापन संकायअन्तर्गत बिबिएस चौथो वर्ष र मानविकी संकायको बिए तेस्रो वर्षको अन्तिम नतिजा प्रकाशित गरेको छैन।

यसै कारण विद्यार्थीहरूले त्रिविको चर्को विरोध र आलोचना गरिरहेका छन्। सडकमा समेत आन्दोलन गर्न बाध्य छन्। यता, त्रिवि भने ब्याचलर (स्नातक)को अन्तिम वर्षको नतिजा प्रकाशित नगरी मास्टर्स (स्नातकोत्तर) को भर्ना सूचना निकालिसकेको छ। समयमा नतिजा प्रकाशित नभएपछि विद्यार्थीको बिलौना : ‘रिजल्ट कुर्न नसकेर साथी खाडी गइसक्यो, परीक्षाफल खोइ त्रिवि ?’ भन्दै गुनासाे पाेखेका छन्।

त्रिविले पुस ६ गते स्नातकोत्तर तह प्रथम सेमेष्टरको भर्ना कार्यक्रम सार्वजनिक गरिसकेको छ। मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययनअन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०७९।०८० का लागि स्नातकोत्तर तह प्रथम सेमेष्टरको नयाँ भर्ना तालिका त्रिविको सूचनामा उल्लेख छ।

जसमा आवेदन फाराम वितरण र बुझाउने समय पुस ५ गतेदेखि माघ ४ गतेसम्म तोकिएको छ। यो सूचनाको पनि चर्को आलोचना भइरहेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक अर्यालले भने परीक्षाफल प्रकाशित हुन बाँकी सबै विषयकाे नतिजा यही महिनाभित्र प्रकाशित हुने दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.