|

मुम्बई : तीन साताअघि प्रदर्शनमा आएको बलिउड फिल्म सर्कस बक्स अफिसमा फ्लप सावित भएको छ। भारु १ अर्ब ५० करोडको लगानीमा बनेको फिल्मले ५० करोड उठाउन पनि संघर्ष गर्दै छ। 

सर्कस व्यावसायिक रूपमा निर्देशक रोहित सेट्टीको करिअरकै सबैभन्दा असफल फिल्म बनेको छ भने यसका मुख्य अभिनेता रणवीर सिंहको यो तेस्रो असफलता हो। यसअघि प्रदर्शनमा आएका दुई फिल्म लगातार बक्स अफिसमा फ्लप सावित भएका थिए। 

डिसेम्बर २०२१ मा प्रदर्शनमा आएको ८३ ले बक्स अफिसमा झण्डै १ अर्ब २० करोडको कलेक्सन गरेको थियो। जब कि फिल्मको बजेट २ अर्ब ७० करोडभन्दा धेरै रहेको बताइएको थियो।

भारतमा सबैभन्दा लोकप्रिय खेल क्रिकेट र भारतीय क्रिकेट टोलीले जितेको पहिलो विश्वकपको कथामा आधारित फिल्मले लगानीसम्म पनि सुरक्षित गर्न नसक्नुले बलिउडलाई नै एउटा झट्का दिएको थियो।

कबिर खानको निर्देशनमा बनेको फिल्ममा रणवीर कपिलदेवको भूमिकामा देखिएका थिए। फिल्ममा उनीसँगै दीपिका पादुकोण, जीवा, पंकज त्रिपाठी, ताहिर राज भासिन लगायतका कलाकारको मुख्य भूमिका रहेको थियो। 

गत मे महिनामा प्रदर्शनमा आएको रणवीरको जयशभाइ जोरदार पनि बक्स अफिसमा असफल सावित भएको थियो। कमेडी ड्रामा जनरामा बनेको उक्त फिल्मले बक्स अफिसमा २६ करोड मात्र कमाउन सकेको थियो। फिल्म निर्माणमा ८५ करोडभन्दा बढी लागेको बताइएको थियो। दिव्यङ्ग ठाकरको निर्देशनमा बनेको फिल्ममा रणवीरसँगै शालिनी पाण्डे, रत्नपाठक शाह, बोमन इरानी लगायतका कलाकारको मुख्य भूमिका रहेको थियो। 

रणवीरका यसअघि प्रदर्शनमा आएका गल्ली बोइ, सिम्बा, पद्मावत लगायतका फिल्मले भने बक्स अफिसमा राम्रो प्रदर्शन गरेका थिए। यो वर्ष उनको ‘रकी और रानीकी प्रेम कहानी’ प्रदर्शनको तयारीमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.