|

विराटनगर :  प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। झापाबाट प्रदेशसभामा निर्वाचित कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज (आइतबार) मुख्यमन्त्री नियुक्त गरेका हुन्।

प्रदेशसभामा रहेका एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।

एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तिका लागि समर्थन दिएका थिए।

प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब दुई तिहाइ सदस्य ६० जनाको समर्थनमा कार्कीको दावी पेश भएको थियो। सोहीअनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रदेशसभामा कुनै पनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख परर्शुराम खापुङले आज ५ बजेसम्मको समय दिएका थिए। सो समय अगावै दलहरूले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेश गरेका थिए।

मुख्यमन्त्री कार्कीको शपथ भने भोलि  हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.