|

वीरगञ्ज : शीतलहर र अत्यधिक चिसो बढेसँगै मध्य तराईका विद्यालय खुल्ने समय धकेलिएको छ। शीतलहर र चिसोको प्रकोपले चार दिन पहिलेबाट बन्द भएका यस क्षेत्रका विद्यालय अझै चार पाँच दिन नखुल्ने भएपछि विद्यालय खुल्ने समय पर धकेलिएको हो।

मध्य तराईमा अहिले चिसोले यहाँको जनजीवन नराम्ररी गाँजेको छ। यही कुरालाई दृष्टिगत गरी पहिलो चरमा चार दिनका लागि भनी गएको शुक्रबारसम्मका लागि भनी बन्द गरिएका पर्सा, बाराका विद्यालय करिब यो साता नखुल्ने संकेत देखिएको छ।

स्थानीय सरकारहरूले कसैले चार दिन त कसैले यो हप्ता नै विद्यालय नखुल्ने गरी सूचना जारी गरिसकेका छन्। आफ्नो पालिका क्षेत्रभित्रका विद्यालयस्तरका सबै बालबालिका जोगाउन विद्यालय बन्द गर्नुपरेको बाराको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताए। यहाँ मंगलबारसम्मका लागि विद्यालय बन्द गरिएको उनले बताए।

‘वीरगन्ज’ महानगरपालिका सहित पर्साका १४ पालिका मध्ये पर्सागढी नगरपालिका, पोखरिया र बहुदरमाई नगरपालिका, विन्धवासिनी गाउँपालिका, छिपहरमाई, पटेर्वासुगौली, लगायतका गाउँपालिकाले पनि आफ्नो क्षेत्रका विद्यालय बन्द गराएका छन्।

त्यसैगरी बाराको जितपुरसिमरा, उपमहानगरपालिका क्षेत्रका पनि विद्यालय बन्द रहेको जनाइएको छ। पहिलो चरणमा गएको १९ पुसदेखि शुक्रबार (२२ गते पुस) सम्मका लागि स्थानीय शैक्षिक संस्था बन्द गर्न सार्वजनिक सूचना जारी गरेका पालिकाहरूले अत्यधिक मौसमी चीसो र शीतलहर लम्बिए पछि विद्यालय बन्द गर्ने समय पनि लम्ब्याउन परेको बताए।

प्रायः सबै पालिकाले विद्यालयहरू आगामी २९ गते त कसैले एकैपटक माघ २ गते मात्र खुल्ने गरी पनि बन्द गराएका छन्। वीरगन्ज महानगरपालिकाले भने आइतबारदेखि आगामी बुधबारसम्मका लागि दोस्रो चरणमा थप चार दिन विद्यालय बन्द गर्न सूचना जारी गरिएको वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत आनन्द लामिछानेले बताए।

पहिलो चरणमा पनि गत १९ पुसबाट २२ सम्म चारदिन नै आफ्नो क्षेत्रका विद्यालय बन्द गराइएको थियो। अवस्था सुधार नभएपछि पुनः चार दिन समय लम्ब्याइएको शिक्षा अधिकृत लामिछानेको भनाइ छ।

अस्पतालहरूमा पनि चिसोका विरामी बढे
चिसो र शीतलहरले मध्य तराईलाई नराम्रोसँग गाँजेपछि चिसोका विरामीहरू स्थानीय अस्पतालमा पनि ह्वात्तै बढेको वीरगन्जको नारायणी अस्पतालले जनाएको छ। यो समयमा चिसोबाट बच्ने उपाय गर्नुको विकल्प नभएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चित्तरञ्जन साहले बताए।

चिसोको कारण अस्पतालहरूमा कोल्ड डाइरिया, निमोनिया र ज्वरोका विरामीको चाप बढिरहेको उनको भनाइ छ। चिसोले खासगरी बालबाललिका, वृद्धवृद्धा र दम तथा प्रेसर, सुगर र प्रोष्टेटको समस्या भएका बिरामी बढी जोखिममा परेको डा. साहले बताए।

अस्पतालमा पुग्ने बालबालिकाहरूमा निमोनिया, श्वास फेर्न अप्ठ्यारो हुने, कोल्ड डाइरिया र ज्वरोका बिरामी बढी देखिएको नारायणी अस्पतालका फिजिसियन डा. उदयनारायण सिंहले पनि बताए। यस्तो समयमा काम विशेषले घर बाहिर निस्कनैपर्नेले मात्र निस्किनुपर्ने, त्यो पनि न्यानो कपडा लगाएर मात्र निस्कने, तातो झोलिलो खाने कुरा बालबच्चा, वृद्धवृद्धालाई ख्वाउने, आफू पनि खाने, विपन्न सर्वसाधारणले पनि गाउँघरमा पराल प्रयोग गरेर भए पनि बच्न कुनै कसर बाँकी राख्न नहुने चिकित्सकहरूको सुझाव छ।

बालबालिका, वृद्धवृद्धा वा प्रेसर, सुगर र प्रोष्टेटको समस्या भएका विरामीले शरीरमा थोरै अप्ठ्यारो महसुस भए तुरुन्त चिकित्सकको सल्लाह लिने र सोहीअनुसार औषधि सेवन गर्नुपर्ने नारायणी अस्पतालका चिकित्सकहरूको सुझाव छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.