|

काठमाडौं : सन् १९५४ मा क्यानडाको ओन्टारियोमा जन्मेका जेम्स क्यामरुनको निर्देशकीय डेब्यु फिल्म ‘पिराना २ः द स्पनिङ’ हो। जुन उनी २८ वर्षका हुँदा प्रदर्शनमा आएको थियो। व्यावसायिक रुपमा सफल फिल्मको सिक्वेल बनाएर एउटा कुशल हरर फिल्म निर्देशकको रुपमा क्यामरुनले हलिउड यात्राको शुरुवात गरेका थिए। 

त्यसपछि प्रदर्शनमा आएका सन् १९८४ को साइन्स फिक्सन एक्सन फिल्म ‘द टर्मिनेटर’ होस् या सन् १९८६ मा आएको सोही जनराको ‘एलियन्स’ क्यामरुन लगातार सफल भए। उनको निर्देशकीय पक्ष त सबैले मन पराए नै साथै साढे ६ मिलियन अमेरिकी डलरमा बनेको ‘टर्मिनेटर’ले झण्डै ८० मिलियन र १८ मिलियनमा बनेको ‘एलियन्स’ले बजेटको १० गुणा बढी कमाइ गर्दै निर्मातालाई पनि सन्तुष्ट बनाए। त्यसपछि उनका सन् १९८९ मा ‘द अबिस’, सन् १९९१ मा ‘टर्मिनेटर २’ र सन् १९९४ मा ‘ट्रु लाइज’ प्रदर्शनमा आए। 

सन् १९९७ उनको करिअरका लागि सबैभन्दा महत्वपूर्ण वर्ष सावित भयो। जुन वर्ष क्यामरुनको लेखन तथा निर्देशन रहेको ‘टाइटनिक’ प्रदर्शनमा आएको थियो। ८५ वर्षअघि दुर्घटना भएको टाइटनिक नामक पानीजहाजको कथा रहेको उक्त फिल्ममा क्यामरुनले एपिक रोमान्स प्रवेश गराएका थिए। जुन फिल्म विश्वप्रसिद्ध बन्यो। बक्स अफिसमा कीर्तिमानी कमाइ गर्दै विश्व सिनेमाको इतिहासमा २ बिलियन अमेरिकी डलर कमाइ गर्ने पहिलो फिल्म बन्यो। 

त्यसको १२ वर्षपछि उनको लेखन तथा निर्देशन रहेको फिल्म ‘अवतार’ प्रदर्शनमा आयो। फिल्मको पहिलो ड्राफ्ट ‘टाइटनिक’ बन्नुभन्दा अगाडि नै लेखिएको भए पनि प्रविधिको विकास नभएका कारण उक्त फिल्मलाई क्यामरुनले पछि सारेका थिए। त्यतिवेलासम्म सर्वाधिक कमाइ गर्ने तथा बक्स अफिसमा २ बिलियन अमेरिकी डलरको आँकडा पार गर्ने एकमात्र फिल्म उनको ‘टाइटनिक’ नै थियो। जसकारण पनि क्यामरुनले १२ वर्षपछि प्रदर्शनमा ल्याउन लागेको फिल्मलाई लिएर दर्शकमा छुट्टै उत्साह थियो। एपिक साइन्स फिक्सन जनरामा बनेको उक्त फिल्मले बक्स अफिसमा सुनामी नै ल्यायो। जुन सुनामीले ‘टाइटनिक’को कीर्तिमान भंग गर्दै सर्वाधिक कमाइ गर्ने फिल्म ‘अवतार’लाई बनायो।

‘अवतार’को सफलतापछि क्यामरुनको अर्को फिल्म कस्तो होला भन्ने उत्सुकता लाखौँ दर्शकको मनमा थियो। दर्शकले अवतारका लागि १२ वर्ष कुरेका थिए भने ‘अवतार २’ का लागि पर्खाइ अझ लामो भयो। ‘अवतार’ प्रदर्शनमा आएको १३ वर्षपछि गत डिसेम्बर १६ बाट ‘अवतारः द वे अफ वाटर’ प्रदर्शनमा आएको छ। र यतिवेला सर्वाधिक कमाइ गर्ने फिल्म सूचीमा क्यामरुनको पछिल्लो फिल्म ‘अवतार’ पहिलो नम्बरमा छ। चौथो हप्तामै सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा सातौँ नम्बरमा आएको ‘अवतार २’ को लाइफ टाइम कलेक्सनलाई धेरैले चासोका साथ हेरिरहेका छन्। 

पछिल्लो २५ वर्षमा क्यामरुनका जम्मा तीनवटा फिल्म प्रदर्शनमा आएका छन्। यसअघिका दुई फिल्मले सर्वाधिक कमाइको कीर्तिमान बनाएका थिए भने यतिवेला हलमा रहेको ‘अवतार २’ को लाइफटाइम कलेक्सन हेर्न बाँकी छ। ‘टाइटनिक’को २ दशमलव २०२, ‘अवतार’को २ दशमलव ९ र ‘अवतार २’ को हालसम्मको १ दशमलव ७ बिलियन डलर गरि उनका पछिल्ला ३ फिल्मले ६ दशमलव ८ बिलियन अमेरिकी डलरभन्दा बढीको कमाइ गरेका छन्। 

हाल ६८ वर्ष पुगेका क्यामरुन अझै केही वर्ष ‘अवतार’कै लागि खर्चिने सुरमा छन्। पहिलो र दोस्रो भाग प्रदर्शनमा आइसकेका छन् भने अब हरेक दुई वर्षको अन्तरमा उनी नयाँ भाग प्रदर्शनमा ल्याउने तयारीमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.