|

काठमाडौं : ह्रास हुँदै गएको ओजोन तहको अवस्था सुधारको बाटोमा फर्किएको छ।

जलवायु परिवर्तन र मौसमसँग आबद्ध वरिष्ठ वैज्ञानिकले लामो अनुसन्धानपछि अबको चार दशकभित्र ओजोन तह पहिलेकै अवस्था र आकारमा फर्किने दाबी गरेका छन्। 

ओजोन तहको विनाशका कारक रहेको औद्योगिक रसायनको प्रयोगको कमीका कारण ओजोन फेरि साबिककै अवस्थामा फर्कने लयमा अग्रसर बनेको उनीहरूको निष्कर्ष छ। 

नेसनल एरोनिक्स तथा स्पेस एडमिनिस्ट्रेसन (नासा) र युरोपेली आयोग, विश्व मौसम विज्ञान, संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम, राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासनलगायतमा आबद्ध वैज्ञानिकले यसबारे अनुसन्धान गरेका थिए।   

बिहीबारको गोरखापत्रमा समाचार छ, मंगलबार सम्पन्न अमेरिकी मौसम विज्ञान समाजको १०३औँ वार्षिक बैठकमा प्रस्तुत गरिएको अध्ययन प्रतिवेदनमा ‘जीओ इन्जिनियरिङ’ जस्तो नयाँ प्रविधिको प्रयोग गरी ओजोन तहको वर्तमान अवस्थाबारे अध्ययन गरिएको उल्लेख छ। प्रत्येक चार वर्षमा प्रकाशित हुने अध्ययन प्रतिवेदनको यस वर्षको संस्करणले ओजोन तहमा अझै पनि अनपेक्षित प्रभाव बढ्दो रहेको भन्दै वैश्विक समुदायलाई चेतावनी दिइएको छ। 

जलवायु परिवर्तनसम्बन्धी मोन्ट्रियल अनुबन्धमा आधारित रहेर भएको अध्ययनले ओजोन तहलाई क्षयीकरण गर्ने पदार्थमध्ये ९९ प्रतिशत त्यस्ता पदार्थ न्यूनीकरण गर्दै ओजोन तहको सुरक्षा गर्न सफल बनेको छ। त्यसले पनि उल्लेखनीय रूपमा ओजोन तहको सुधार भएको दाबी गर्न सकिने आधार बनेको तथ्य प्रतिवेदनमा प्रस्तुत गरिएको छ। ओजोन तहमा प्वाल परेर यसको तह विनाश हुँदा सूर्यबाट आउने हानिकारक परावैजनी किरण सीधै पृथ्वीमा आउँदा मानव अस्तित्वमा  संकट निम्तिएको थियो। 

वर्तमानमा अपनाइएका जलवायु परिवर्तनका नीति यथावत् रहेमा ओजोन तह आगामी सन् २०६६ सम्म अन्टार्कटिकामा, सन् २०४५ सम्म आर्कटिकमा र सन् २०४० सम्म बाँकी विश्वका लागि ओजोन तह पूर्ण रूपमा पुरानै अवस्थाको सुरक्षा कवच बन्नेछ। त्यसपछि ओजोन तहको अवस्था प्वाल पर्नुअघिको अर्थात् सन् १९८० को अवस्थामा पुग्ने अपेक्षा  वैज्ञानिकले गरेका छन्।

सन् २०१९ र २०२१ का बीचमा अन्टार्कटिकाको आकाशमा ओजोन तहमा परेको प्वालको आकार पहिलेको तुलनामा धेरै खुम्चिएको देखिएको छ। प्रतिवेदनअनुसार यो सुधार भर्खरै मात्र भएको भने होइन। 

जलवायु अनुकुलनमा वैश्विक समुदायको सामूहिक पहलका कारण सन् २००० देखि अन्टार्कटिका क्षेत्रको ओजोनको प्वालको क्षेत्रफल र गहिराइमा बिस्तारै सुधार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.