|

हुम्ला : हुम्ला जिल्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिका बासिन्दालाई निःशुल्क उपलब्ध गराउन ल्याइएका सुधारिएको चुह्लो ९ महिनादेखि अलपत्र रहेका छन्। छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुलनजिकै ३ सय ५७ थान सुधारिएको चुह्लोमध्ये १ सय १७ थान ९ महिनादेखि बेवारिसे राखिएको हो। 

गत वैशाखमा सल्लिसल्लाबाट खच्चरमा ढुवानी गरी उक्त पुलनजिकै ल्याएर अहिलेसम्म बेवारिसे छोडिएको सोही गाउँपालिकाकी सदस्य जसमती शाहीले जानकारी दिइन्।

२ सय ४० थान चुह्लो ट्याक्टरबाट सदरमुकाम सिमकोटमा लगिएकामा १ सय १७ थान चुह्लो भने खार्पुनाथमै बेवारिसे छोडिएको छ। ट्र्याक्टरबाट सिमकोट ल्याइएका भाडा सम्बन्धित निकायले नदिएपछि २ सय ४० चुह्लो ट्र्याक्टर मालिक कूल रावतको घरमा थन्क्याइएको बताइएको छ।

आफ्नो घरमा सुरक्षित राख्दाको घरभाडा नपाएको उनले गुनासो गरे। ती चुह्ला ‘नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत लक्षित वर्गलाई  वितरणका लागि भनी लेखिएको छ। उक्त गाउँपालिकाको कुन वडाले उक्त चुह्लो खरिद गरेको भन्ने पहिचानसमेत हुनसकेको छैन। 

बेवारिसे छोडिएका चुह्लो घामपानीका कारण खिया लागेका छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक निर्देशक रणबहादुुर थापाले गत आर्थिक वर्ष ०७७/७८ मा सिमकोट गाउँपालिकाका लागि छनोट भएका घरधुरीका लागि बोलपत्रद्वारा कम्पनी छनोट गरी ती चुह्लो खरिद गरिएको बताए। सिमकोटसम्म लैजाने जिम्मा लिएको कम्पनीले लक्षित वर्गलाई ती चुह्ला वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ। 

उक्त चुह्लो एउटाकै ८ हजार ५ सयमा खरिद भएको बताइएको छ। १ हजार ११६ घरधुरीका लागि उक्त चुह्लो वितरणको जिम्मा गाल्भा निर्माण सेवा कम्पनीले लिएको तथ्य फेला परे पनि बाँकी ७५९ चुह्लोको अत्तोपत्तो छैन।

९४ लाख ९४ हजार ५ सय लगानी गरी खरिद गरिएका चुह्ला अलपत्र अवस्थामा छन्। उक्त गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले यस विषयमा आफूलाई थाहा नभएको तर फाइल खोज्ने क्रममा ती चुह्लो वितरण सम्पन्न भइसकेको थाहा पाएको बताए।

२ वर्षअघि नै पाइसक्नुपर्ने चुह्लो अझैसम्म कसैले पनि नपाएको देखिएको उनले जानकारी दिए। खरिद तथा ढुवानीको जिम्मा पाएको संस्थाका प्रतिनिधि कृष्ण केसीले भौगोलिक विकटता र हिमपातका कारण सबै चुह्लो हुम्लामा लैजान नपाएको उल्लेख गर्दै थप कुरा गाउँपालिकाको कार्यालयमा गएर बुझ्न आग्रह गरे। यस विषयमा छानबिन गरिने उक्त गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.