|

तुलसीपुर : माघीको अवसरमा थारू बाहुल्य क्षेत्र रौनकमय बनेको छ। विगतका वर्ष झैँ योपटक पनि जिल्लाका विभिन्न ठाउँमा माघीको अवसरमा थारूहरूको कला संस्कृति संरक्षणका लागि महोत्सव लगाएका छन्। उनीहरू सयौँको सङ्ख्यामा उपस्थित भएर आफ्नो कला, संस्कृति प्रस्तुत गरेका छन्।

थारू गाउँमा अहिले माघीको विशेष परिकारका लागि ढिक्री बनाउन, दुना टपरी गाँस्ने लगायतका घरकै कामकाज उनीहरूलाई गर्न भ्याईनभ्याई छ।

माघ १ गतेका दिन नजिकको जलाशय नदी, पोखरी, तलाउ लगायतका स्थानमा गएर नुहाउने र मतहवाको हातबाट टीका ग्रहण गरेर दिदीबहिनीहरूका लागि निसराउ (चामल, नुन, मास) छुट्याउँछन्। यसरी छुट्याएको निसराउ दिदी बहिनीहरूलाई आफ्नो दक्षता अनुसार दान दक्षिणा दिने चलन छ।

थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउने मात्र नभई छोराछोरीको बिहे, दाजुभाइ छुट्टिने, नयाँ घर बनाउने, गाउँको अगुवा मतहवा बडघर चुन्ने काम पनि यसै अवसरमा गर्छन्।

थारू समुदायको मौलिक वेषभूषा, भाषा, कला संस्कृति पछिल्लो समय ह्रास हुँदै गएको शान्तिनगर-५ का बुद्धिराम चौधरी बताउँछन्।

उनले आफ्नो पुरानो संस्कार हराउँदै गएकोमा दुःखी भएको समेत बताए। उनले पछिल्लो समय स्थानीय सरकारले आफ्नो कला, संस्कृति जोगाउन विभिन्न महोत्सव गर्दा त्यसले केही राहत मिल्ने गरेको बताए। उनले माघीका अवसरमा गाउँमा सबै जम्मा भएर नयाँ के काम गर्ने ? कसलाई मतहवा बनाउने, कसको घरमा दाजुभाइ छुट्टिन लागेका छन्, त्यो जानकारी गराउने र रातभर खाएर रमाइलो गर्ने चलन रहेको पनि बताए।


यस्तै सोही ठाउँका विष्णु चौधरीले आफ्नो परम्परादेखि चल्दै आएको रीतिरिवाज जोगाउन आफूहरू लागि परेको बताउँछन्। उनले पछिल्लो समय युवा पुस्ताले भुल्दै गएको भन्दै आफ्नो कला, संस्कृति जोगाउन स्थानीय सरकारले साथ दिनुपर्ने बताए।

उनले भने, ‘हामी संस्कृति जोगाउन लागि परेका छौँ। पछिल्लो समय माघी, दशैँमा थारू समुदायमा नाच्दा साउन्ड सिस्टममा नाच्ने गर्दा हाम्रो वेषभूषा, बाजा हराउँदै गएका छन्।’

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा डगौरा थारू समुदायको बाक्लो बस्ती छ। पुस्तान्तरण अभावका कारण थारू पहिचान समेत हराउँदै गइरहेको थारू अगुवा छोटिलाल थारू बताउँछन्।

पहिलाको समयमा गाउँमा कुनै पनि काम गर्दा मतहवाको हातमा सबै कुरा हुने गरे पनि पछिल्लो समय त्यो हराएको उनीहरूको भनाइ छ। यस्तै पछिल्लो समय लोप हुन लागेको थारू जातिको कला संस्कृति पछिल्लो समय हुने विभिन्न थारू महोत्सवले जगेर्ना हुन लागेको पनि उनीहरूको भनाइ छ।

तुलसीपुर उपमहानगरका विभिन्न स्थानमा पनि माघी महोत्सव कार्यक्रम आयोजना गरिएको छ। हराउँदै गएको आफ्नो कला संस्कृति जगेर्ना गर्नका लागि माघी महोत्सव आयोजना गरेको तुलसीपुर १२ का वडाध्यक्ष खुशीराम चौधरी बताए।

उनले भने, ‘कला संस्कृतिको संरक्षण गर्नु भन्ने कुरा पनि विकास हो। त्यसलाई हामीले यसपटक महोत्सव कार्यक्रम राखेर वडामा रहेका सबै कला संस्कृति जोगाउन प्रयास गरेका हौँ। वडामा भौतिक पूर्वाधार मात्र नभई संस्कार र संस्कृतिको विकास गर्न आवश्यक रहेको हुँदा माघी महोत्सव आयोजना गरिएको हो।’

उनले माघी थारू जातिहरूको नयाँ वर्ष भएका हुँदा पनि यसलाई भव्य रूपमा मनाउने गरेको पनि बताए। उनले भने, ‘पहिला कुनैको जग्गा लगाउन वा कसैको घरमा कमलहरी बस्नेका लागि माघी पछि नयाँ सम्झौता गर्नुपर्ने अवस्था थियो।’

यस्तै २०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा भएपछि थारूहरूले माघीलाई मुक्ति दिवसको रूपमा पनि मनाउने गर्छन्।

लुम्बिनी प्रदेशका सांसद तथा पूर्व पूर्वमन्त्री डिल्लीबहादुर चौधरीले थारू जातिको मौलिक कला संस्कृति जगेर्ना गर्नुका साथै थारू जातिले बनाएको जाँड, रक्सी अनदीको झोल बेच्न पाउनुपर्ने बताए। उनले त्यसका लागि यो वर्ष लुम्बिनी प्रदेश सरकारले रक्सी सबैले बेच्न र बोतलीकरण गर्न पाउनुपर्छ भनेर निर्णय समेत गरेको बताए।

उनले विदेशी ब्राण्डको ब्ल्याक लेभल र रेड लेभल भन्दा थारू समुदायले बनाउने अनदीको झोल, जाँड, डारु (रक्सी) कैयौं गुणा गुणस्तरीय हुने भएकाले यसलाई थारू समुदायले बेचेर आम्दानीको स्रोत बनाउनुपर्ने समेत बताए। 

थारू जातिलाई पुर्खाहरूले जाँडरक्सी बनाउन सिकाएको सीपलाई व्यवसायीकरण गर्दै अघि बढाउनुपर्ने समेत बताए। साथै उनले अनदीको रोटी, ढिक्री, कोलमा पेलेको तेल कसरी बेच्न सकिन्छ भनेर सोच्नुपर्ने वेला आएको भन्दै गाउँगाउँमा आफ्नो कला संस्कृति, चाल चलन अघि बढाउनुपर्ने समेत बताए।

अहिले थारूहरूको संस्कृति जोगाउन दाङका मतहवाहरू अग्रसर भएकोमा खुशी व्यक्त गर्दै खानपिनको संरक्षणसहित थारू मतहवा, गुरुवाहरूलाई भत्ताको व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको पनि बताए।

यस्तै ‘मघौटा संस्कृति हमार पहिचान समृद्धि दंगीशरण हमार अभियान’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको थियो। गाउँपालिकाका ७ वटै वडाबाट करिब ४० वटा प्रतियोगी नृत्य प्रस्तुत गरिएका थियो।

झुम्रा नाच, मघौटा नाच, छोक्रा नाच, महोट्या नाच, हुर्डुङ्गा नाच, सख्या नाच लगायतमा प्रतियोगी नृत्य प्रस्तुत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.