|

सुर्खेत : डोल्पाको सदरमुकाम दुनै भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको छ। हप्ता दिनदेखि देशका जुनसुकै ठाउँबाट पनि डोल्पाको दुनैसम्म सिधा यात्रा गर्न सकिने भएको छ।

भेरी नदीमा अस्थायी पुल निर्माणसँगै डोल्पाको दुनैसम्म गाडीमा जान सकिने भएपछि खुसी नहुने को होला? सधैँ दुर्गमको पगरी गुथिरहने डोल्पा अब सिधा यातायात सेवाले केही हदसम्म सहजताको अनुभूति सिर्जना भएको छ।

सदरमुकाम दुनैबाट उपल्लो डोल्पाका तीनवटा पालिकामा जानका लागि अझै पनि पैदल वा घोडाको साहारा लिनुपर्ने बाध्यता रहँदै आएको छ।

उपल्लो डोल्पाका काम गर्ने कर्मचारीहरू दुनैमा बसेर उपल्लो डोल्पाको तलब, भत्ता खाने गरेको गुनासो जनप्रतिनिधि नै गर्दछन्।

अधिकांश काम दुनैबाट गरेर उपल्लो डोल्पा हप्ता दिन जाँदा वर्षभरि सामाजिक सञ्जालमा राखेर उपल्लो डोल्पामा काम गरेको फूर्ति लगाउने गरेको जनप्रतिनिधिको गुनासो छ।

‘जनतासँग दैनिक हामीले भए भरका कामहरू गर्नुपर्छ, कर्मचारी खोज्दा कोही पनि भेटिँदैनन्’,यहाँका सबै सर्वसाधारणको गुनासो हो यो। फोन गर्दासमेत  रिसिभ नगर्दा कर्मचारीहरूले अर्को दु:ख दिने गरेको छार्काताङसुङ गाउँपालिका–३ का वानचिन गुरुङले बताए।

उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल काठमाडौं हुनुहुन्छ रे, फोन गर्दा पनि उठाउनुहुन्न। पालिकामा एकजना पनि कर्मचारी छैनन्, हाम्रो काम गरिदिने कसले हो? अन्य ठाउँमा संघीयता आए पनि हाम्रो पालिकामा संघीयता आएकै छैन।’

पालिकाभन्दा बाहिर बसेर सधैँ तलब, भत्ता खाने आरोप गुरुङले लगाइरहँदा हामी (थाहाखबर)ले पनि अधिकृत सेजुवाललाई तीन दिनमा झण्डै ५ पटक फोन गर्दासमेत रिसिभ भएन। पालिकाको काममा गएको भन्दै लामो समयदेखि सेजुवाल काठमाडौंमै बसेका छन्।

गाउँपालिकाका अन्य कर्मचारीहरू समेत आ-आफ्नो व्यक्तिगत काममा बसेका कारण छार्काताङसुङ गाउँपालिकामा कर्मचारी कोही पनि नभेटिएका हुन्।

दुर्गम भएको बहाना देखाउँदै देशका ठूला सहरमा बसेर डोल्पाको कर्मचारी भनी नाम भजाउँदा आफूहरू पीडित भएको छार्काताङसुङ –४ का पासवान रोकायले बताए।

कहिलेकाही मात्र पालिकामा पाइला टेक्ने कर्मचारीले अधिकांश समय दुनैबाटै काम गरिरहेको उनको आरोप छ।

अहिले छार्काताङसुङ गाउँपालिका भित्रका जनता गाउँमै भए पनि कर्मचारी चिसोको बहानामा दुनैबाट व्यक्तिगत काममा लागेको जनप्रतिनिधिहरू नै बताउँछन्।
 

पालिकामा कोही पनि कर्मचारी किन नबसेको? भन्दै हामीले त्यहाँका सूचना प्राविधिक अधिकृत किरण केसीलाई सम्पर्क गर्न खोज्दा उनको पनि फोन उठ्न सकेन। गाउँपालिकाका उपाध्यक्ष कर्म ढुण्डुप गुरुङले आफू काठमाडौं भएको बताए।

छार्काताङसुङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले टेलिफोनमा भने ,‘तपाईंको मात्र होइन, मेरो पनि फोन उठाउँदैनन्। म आफैँ पनि पीडित हुँ। पालिकाको अधिकृत भएर जतिबेला पनि फोन उठाउनुपर्ने तर कर्मचारीले फोन नै नउठाउँदा कसरी काम गर्ने?’

आफू काम परेको समयमा जतिबेला पनि जुनसुकै ठाउँमा पुग्ने गरेको अध्यक्ष गुरुङले बताए। ‘बजेट माग गर्नका लागि काठमाडौंमा छु’, उनले भने, ‘भेरी करिडोरले आफ्नो पालिका नभेटने भएकाले बेसरी काममा लाग्नुपरेको छ, सबै मन्त्रीज्यूलाई भेटेर पालिकाको विकासलाई गति दिने योजना छ।’

कर्मचारी टिकाउनकै लागि पनि चुपचाप लागेर काम गर्नुपरेको जनप्रतिनिधिको गुनासो छ। गाउँपालिकामा हुने अधिकांश कामहरू कर्मचारी नहुँदा समस्या हुँदै आएको सेवाग्राहीले बताएका छन्।

राज्यले खटाएको ठाउँमा इमानदारपूर्वक काम गर्नुको ठाउँमा अनेक बहाना बनाएर खटाएको ठाउँमा नजाँदा त्यसको प्रत्यक्ष मारमा सेवाग्राहीहरूलाई पर्ने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.