|

खोटाङ : विद्यालयबाट घर फर्किने क्रममा हराएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया रञ्जिता दाहाल मृत फेला परेकी छिन्। 

हलेसीस्थित महेन्द्रोदय माध्यमिक विद्यालयबाट आइतबार दिउँसो ३ बजेतिर घर फर्किने क्रममा सम्पर्कविहीन भएकी किशोरी दाहाल सोमबार घरनजिकै मृत फेला परेकी हुन्।

कक्षा–१० मा अध्ययनरत बालिका मंगलबारदेखि विद्यालयमा आयोजना हुने नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन्। प्रतियोगिताको तयारी सकेपछि उनी साथीसँगै घर फर्केकी थिइन् । 

बाटैमा पर्ने साथीको घरमा खाजा खान आग्रह गर्दा ‘हतार छ’ भन्दै रोटी बोकेर हिँडेकी बालिका घरभन्दा करिब २०० मिटर टाढा मृत फेला परेकी हुन्। 

घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए। ‘ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद छ’, उनले भने, ‘प्रहरी प्रशासनले कसैको दबाबमा नपरी सत्यतथ्य छानबिन गर्नुपर्छ।’

घटनाको वियषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए। बालिकाको शव परीक्षणपछि तथ्य खुल्ने प्रहरीले उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.