फापरबारी : पाँचौं संस्करणको बागमती गोल्डकप फुटबलको उपाधि भुटनिज युथ स्पोर्टस अमेरिकाले जितेको छ।
मकवानपुरको फापरबारीमा मंगलबार भएको फाइनल खेलमा संकटा क्लबलाई पेनाल्टी सुटआउटमा ८–७ गोल अन्तरले पराजित गर्दै भुटनिज युथले उपाधि उचालेको हो।
जितसँगै भुटनिजले आहा रारा गोल्डकपमा संकटासँग भोगेको हारको बदलासमेत लिएको छ। निर्धारित समयमा दुवै टोली २–२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
दुवै टोलीका ७/७ जनाले गोल गरिसकेको अवस्थामा आठौं नम्बरमा पेनाल्टी प्रहार गर्न आएका संकटाका सुरज ज्यु ठकूरीको प्रहार भुटनिजका गोलरक्षक पूजन थापा मगरले रोकेपछि संकटालाई थप दबाब भएको थियो।
भुटनिज युथका लागि अन्तिम पेनाल्टी प्रहार गर्न आएका भुटनिजका कप्तानसमेत रहेका पूजन थापा मगरले उत्कृष्ट गोल गर्दै भुटनिज युथलाई ८–७ को स्पष्ट जित दिलाए। जितसँगै भुटनिज युथले नगद ८ लाख रूपैयाँ पाएको छ। उपविजेता बनेको संकटाले ४ लाख रुपैयाँमा चित्त बुझाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।