|
यती एयरलाइन्सको आइतबारको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव लिन पोखरास्थित अस्पतालमा प्रतीक्षारत आफन्त। तस्वीर : रासस

पर्वत : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता रहेका दुई जनामध्ये एक जनाको शव आज फेला परेको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार दुर्घटना भएको तेस्रो दिन मंगलबार एक महिलाको शव विमान दुर्घटनामा परेको स्थलबाट करिब ३ सय मिटर तल भेटिएको छ। जहाज ठोक्किएको सेती नदीको डिलबाट तलको खोंचमा शव भेटिएको हो।

दुर्घटनामा परेको यती एयरलाइन्सको एटीआर विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार रहेका थिए। दुर्घटना भएकै दिन आइतबार साँझसम्म ६८ जनाको शव भेटिएको थियो।

बाँकी ४ जनाको अवस्था पत्ता लगाउन सोमबार बिहानैदेखि सुरक्षाकर्मीका उद्धारसम्बन्धी विशेष तालिमप्राप्त टोलीहरू खटिइरहेका छन्। पछिल्लो पटक ७१ औँ शव भेटिएपछि अब दुर्घटनामा परेका एक जनाको मात्रै अवस्था अज्ञात रहेको छ।

घटनास्थलबाट ७० वटा शवहरू भेटिँदा दुई जनाको अवस्था पत्ता नलागेपछि सेतीमा बग्ने पानीको मात्रा घटाएर बेपत्ता रहेकाहरूको खोजी गरिएको थियो। त्यससँगै ड्रोन क्यामेराको समेत सहायतामा खोजी गरिएको छ।

दुर्घटनापछि हराएका शव खोज्न सेती नदीको पानी घटाइएको हो। प्रजिअ केसीका अनुसार सेती नदीको पानीलाई पोखरा भित्रिने नाकामा रहेको याम्दी खोलाको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएको छ।

नहरबाट पानी पठाउँदा नदीमा पानीको बहाव कम हुने तथा बेपत्ता व्यक्ति नदीको पिँधमा रहेको भए पत्ता लगाउन सहज हुने भएकोले नदीमा पानी घटाइएको हो। पानी घटाएपछि गोताखोरसहित ड्रोनको सहायताले बेपत्ताको खोजी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.