|

चन्द्रौटा : कपिलवस्तुका उखु किसान आन्दोलित भएका छन्। आफूले पाउनुपर्ने रकम नपाएको भन्दै उखु किसानले बिहीवार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।

आव २०७१।०७२ मा प्रतिक्विन्टल नेपाल सरकारले रु. २५ रुपैयाँ दिने निर्णय गरे पनि अहिलेसम्म नदिएको भन्दै उक्त रकम माग गरिएको छ। त्यस्तै महालक्ष्मी सुगर्स मिलले किसानको रकमबाट खरिद गरेको ड्रिल मेसिन आफ्नो नाममा गरेकाले उक्त मेसिन किसान संघको नाममा गरिदिने, २०७३।०७४ मा सरकारले तोकेको मूल्यभन्दा महालक्ष्मी सुगर्स मिलले कम मूल्यमा उखु खरिद गरेकाले डिफर रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन्।

सरकारले उखुको मूल्य वर्षेनि तोक्ने तर स्थानीय व्यापारीले किसानलाई रकम नदिने गरेकाले यसमा सरकारले ध्यान दिनुपर्ने कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए। किसानहरूको मागमा सिँचाइको व्यवस्था, किसानले ट्याक्टर खरिदमा भन्सारमा सहुलियत, चिनी मिलको स्थापना लगायतका ९ बुँदे माग गरिएको छ।

पटक पटकको आन्दोलनपछि २०७७ साल पुस १३ गते नेपाल सरकारसँग अनुदान रकम दिने सम्झौता भए पनि कार्यान्वयन नहुँदा पुनः आन्दोलनको तयारी रहेको अध्यक्ष चौधरीले बताए। ज्ञापनपत्र दिँदै अध्यक्ष चौधरीले माघ २० गतेसम्म पनि कुनै सुनुवाइ नभए माइतीघर मण्डलामा धर्ना प्रदर्शन गर्ने जानकारी दिए।

किसानहरूले जीविकोपार्जनको रूपमा उखु खेती गरे पनि सरकारले संरक्षण गर्नुपर्ने समयमा उद्योगहरूलाई संरक्षण गरेको आरोप लगाए। पटक पटक आन्दोलन गर्दा समेत सुनुवाइ नभएकाले किसानहरू पीडित बन्ने अवस्थामा रहेको चौधरीको भनाइ छ।

विगतको तुलनामा उखु उत्पादन गर्ने किसानहरूको संख्या पनि घटेकाले ध्यान दिनुपर्ने बताए। शिवराज नगरपालिका-७ जवाभारीस्थित महालक्ष्मी सुगर्स मिलमा उखु बिक्री गरेबापतको रु. २ करोड ५० लाख रकम किसानले रकम पाउनुपर्ने छ। मिल भने यहाँबाट सरेर सर्लाही गइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.