|

पर्वत : जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी देवी पौडेलका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन्। गाउँमा छोराछोरी र देवी बस्छन्। तीन वर्षयता श्रीमानले विदेशबाट पठाएको रकम घर खर्चमा चलाउन परेको छैन।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विगत तीन वर्षदेखि गाउँमा विभिन्न काम गर्दै आइरहेकी छिन्। गाउँपालिकाको रोजगार सेवा केन्द्रद्वारा सञ्चालन गरिएको ‘कामका लागि पारिश्रमिक’ कार्यक्रम अन्तर्गत रहेर अरू महिला जस्तै उनी पनि सडक, नाली, पदमार्ग, सडक र बाटो छेउको झाडी सफा गर्ने, सरसफाइ, गोरेटो बाटो मर्मत, कुलो, नहर, लगायतका निर्माण र मर्मतमा खटिएकी हुन्छिन्। 

‘मैले परार ५० हजार कमाएकी थिएँ। पोहोर पनि यस्तै कमाइ भएको थियो। यो वर्ष भने त्यति धेरै काम पाइएको छैन। तर उहाँले विदेशबाट पठाएको पैसा यहाँ घरखर्च चलाउन भनेर मास्नु परेन। यहाँ हामी तीन जना मेरै कमाइले बाँच्न सकियो’, उनी भन्छिन्, ‘खाली बस्नु भन्दा केही न केही गरेकै राम्रो हो।’

देवीलाई सामान्य घर खर्ची चलाउनको लागि परिवारका अरू सदस्यको पर्खाइमा बस्नु नपरेको जस्तै गाउँका अरू महिला पनि घर खर्ची जोहो गर्न श्रीमानको कमाइको पर्खाइमा हुँदैनन्। उनीहरू आफैँले दैनिक रूपमा गर्दै आएको परिश्रमको आम्दानीले परिवारको खर्च टरिरहेको छ।

धेरै महिला कामका लागि इच्छुक रहेका र अन्य स्थानीय तहको तुलनामा चित्रेका महिलाहरू आत्मनिर्भरताका लागि बढी नै उत्साहित भएको वडाध्यक्ष सुकबहादुर गुरुङ बताउँछन्। रोजगारीका लागि आवेदन माग गर्दा महिलाहरूबाट बढी नै दरखास्त आएका कारण उनीहरूले गर्न सक्ने काम हेरेर अवसर दिइरहेको उनले बताए। विगतका दुई वर्षमा उनीहरूको माग अनुसार कामको अवसर दिन सकिएको भए पनि यो वर्ष भने महिलाले छ दिन मात्रै काम गरेका छन्। 

अघिल्ला दुई वर्षमा उनीहरूले तोकिएको भन्दा धेरै काम गरेको र प्राविधिक जाँचका क्रममा पनि तोकिएको भन्दा बढी ज्याला दिन सकिने अवस्था रहेकाले प्रतिव्यक्ति प्रतिदिन ८०० रुपैयाँका दरले भुक्तानी दिइएको थियो। तर यो वर्ष प्राविधिक रूपमा तोकिए भन्दा बढी काम गर्नु नपर्ने भएकाले दिनको ६४० रुपैयाँका दरले मात्रै ज्याला दिन सकिने अवस्था छ। 

‘उहाँहरूले पहिले पाएको आठ सय जति नै पारिश्रमिक दैनिक रूपमा पाउनुपर्ने भन्नुभएको छ। तर प्राविधिक रूपमा बढी काम गर्न नमिल्ने भएपछि तोकिएको बाहेक पाउने अवस्था नरहेकाले यो वर्ष उहाँहरूले काम कम गर्नुभएको छ,’ उनले भने, ‘अर्को कुरा जति भने पनि पनि पुरुष जाने भीरमा गएर ढुङ्गा तानेर ल्याउन महिलालाई कठिन नै हुन्छ। सडक, नाली, गोरेटो, सरसफाइ उहाँहरूलाई उपयुक्त हुन्छ। यही कारण पनि यो वर्ष काम कम भएको छ।’ कामका लागि महिलाको माग आउनु, उनीहरू कामको खोजीमा हुनु आत्मनिर्भरताका लागि राम्रो कुरा भएको गुरुङको भनाइ छ।

आफूहरू अनुगमको क्रममा जाने वेलामा काम गरिरहेका महिला देख्दा गौरव लागेको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछाने बताउँछन् ‘हामी वडाको एउटा कार्यक्रममा जाँदै गर्दा बाटोमा निकै मिहिनेतका साथ काम गरिरहेका महिला दिदीबहिनी देख्यौँ’, लामिछाने भन्छन्, ‘उहाँहरूको सक्रियताले अन्य ठाउँका महिलाले पनि प्रेरणा लिन सक्छन्। गफ गरेर दिन खर्चिनुभन्दा केही न केही उपलब्धिमूलक काम गरेर आम्दानी गर्नु राम्रो हो।’ ​

गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माका अनुसार पछिल्ला तीन वर्षदेखि चलिरहेको यो ‘कामका लागि पारिश्रमिक’ अभियानले कामको अभावमा रहेका धेरैलाई थोरै भए पनि आम्दानीका लागि सहज भएको बताउँछिन्। पहिलो वर्ष सुरुमा ८० लाख आएकोमा पछि थपिएको सहित ९८ लाख रुपैयाँको काम गरिएको थियो।

पछिल्ला दुई वर्षमा पनि त्यही अनुपातमा आउने रकमले बेरोजगारी समस्या समाधानमा सहयोग पुगेको उनको भनाइ छ। आफू महिला भएका कारण पनि चित्रेका महिलाले भौतिक निर्माणमा देखाएको चासो र आम्दानीका लागि गरेको मिहिनेतको प्रशंसक रहेको शर्मा बताउँछिन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.