|

म्याग्दी : म्याग्दीको बेनीमा शनिवार (हिजो) साँझ सम्पन्न सातौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा कृषि, पर्यटन औद्योगिक व्यापार मेलामा फोटो प्रदर्शनीमा १० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।

फोटो प्रदर्शनीमा १ सय वर्षअघिको बेनी बजारका तस्वीरले सबैको मन खिचेको स्टल सञ्चालक एवम् फोटो संकलक भोजबहादुर रिजालले बताए।

महोत्सवमा जिल्लाको प्रचार प्रसारमा टेवा पुर्‍याउने उद्देश्यले जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलका १ सय बढी फोटा राखिएको थियो।

जिल्लाका ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थललाई समेटेर महोत्सवमा प्राथमिकताका साथ विशेष स्टल नै राखेर फोटो प्रदर्शनी गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ।

फोटो प्रदर्शनी स्थलमा भेटिएका ८७ वर्षीय वेदप्रसाद उपाध्यायले बेनी बजारको पुरानो फोटो देख्दा आफू केटाकेटी हुँदा देखेको बेनीबजारको झझल्को आएको बताए। ‘मलाई बाल्यकालमा देखेको बेनीबजारको याद आयो, त्यति वेलाको बेनी बजार र अहिलेको बेनी बजार देख्दा आफ्नो जीवनकालमा यति ठूलो परिवर्तन भएछ भन्ने कुराको बोध पनि भयो’, उपाध्यायले भने।

त्यसैगरी अर्का ज्येष्ठ नागरिक ६९ वर्षीय टेकबहादुर मिजारले आफै घुमेर जिल्लाका प्राकृतिक, धार्मिक र पर्यटकीय स्थलहरू देख्न नपाए पनि फोटोमा हेरेर जिल्लाका सुन्दर ठाउँ चिन्ने अवसर पाएको बताए।

बेनीमा फोटो स्टुडियो सञ्चालन गरेका रिजालले जिल्लाका पत्रकार, फोटो ग्राफर र विभिन्न संघसंस्थाबाट संकलन गरेका फोटा प्रदर्शनी स्थलमा राखिएको थियो।

फोटो प्रदर्शनीले जिल्लाको प्रचारप्रसारमा समेत ठूलो योगदान पुगेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए। प्रदर्शनीमा फोटा हेर्न स्कुले बालबालिकादेखि वृद्धवृद्धाको भीड लागेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.