|

धनगढी : सुदूरपश्चिममा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको ५.९ रेक्टर स्केलको भूकम्पले विभिन्न ठाउँमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

मंगलबार दिउँसो २:४३ बजे गएको भूकम्पले भौतिक संरचनामाथि क्षति पुर्‍याएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन भइरहेकाले यकिन विवरण आउन केही समय लाग्नेछ।

प्रारम्भिक विवरणअनुसार बझाङ र बाजुरामा भूकम्पले केही घर भत्किएको र चर्किएको बताइएको छ। बडिमालिका नगरपालिका ७ र ९ मा तीनवटा घर र हिमाली गाउँपालिका ६ मा एउटा विद्यालय भवनसहित दुई घर भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार अहिलेसम्म बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको विवरण आएको छ भने सूचना संकलन गर्ने काम भइरहेको छ।

यस्तै बझाङमा पनि सदरमुकाम चैनपुरमा रहेको सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको कृषि ज्ञानकेन्द्रको भवन र जिल्ला अस्पताल बझाङको भवन चर्किएको छ। चैनपुरमा रहेको एउटा घरको चौथो तलामाथि निर्माण गरिएको मन्दिर पनि भत्किएको छ। बझाङमा केही अन्य घरमा पनि क्षति पुगेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.