|

पर्वत : पोखराका क्रियाशील पत्रकार प्रह्लादचन्द्र घिमिरेमाथि स्याङ्जामा दुर्व्यवहार भएको छ।

उनी विगत २०७५ सालदेखि विवादित रहेको खानेपानीको विषयमा ‘रिपोर्टिङ’ गर्न स्याङ्जाको आँधिखोला गाउँपालिका–४ बाङसिङ, दह पुगेका थिए। पोखराको फेवा टेलिभिजनका समाचार संयोजक एवं समाचारपाटी डटकमका पत्रकार घिमिरेलाई स्थानीय टोल विकास समितिका केही व्यक्तिको उक्साहटमा समाजका अन्य मानिसहरूले आफूमाथि दुर्व्यवहार गरेको पत्रकार घिमिरेले बताएका छन्। 

आफू पत्रकार हो भनेर परिचयपत्र देखाउँदा समेत उनीहरूले भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द बोल्ने, भिरबाट खसालिदिने, पोखरीमा गाड्दिने, लगायतका तल्लो स्तरका गालीगलौज गरेको पनि उनले बताएका छन्। स्थानीय दह ठुला खेत टोलका अध्यक्ष ठाकुर प्रसाद पौडेल, रेसम पौडेल, बाबुराम पौडेल, पीताम्बर पौडेल लगायतका व्यक्तिले गाउँका अन्य व्यक्तिहरूलाई समेत उक्साएर आफूप्रति दुर्व्यवहार गरेको घिमिरेको भनाइ छ।

गाउँपालिकाकी उपाध्यक्ष सीता थापाको अगाडी नै उनीमाथि दुर्व्यवहार भएको हो। थापासहित वडाध्यक्ष लगायतले रोक्दा रोक्दै पनि ‘हाम्रो गाउँको भिडियो खिचेर समाचार बनाउनु परेको छैन।’ भन्दै उनीहरूले हमलाको प्रयास गरेको घिमिरेले बताएका छन्। 

घटना लगत्तै घिमिरेले स्थानीय चिलाउनेबास प्रहरी चौकीमा आफूमाथि दुर्व्यवहार गर्ने स्थानीय अगुवाहरूको बारेमा चौकी प्रमुख हिमत बुढालाई जानकारी गराई कारबाहीको माग गरेका छन्। साथै उनले पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासङ्घ कास्कीमा पनि घटनाको बारेमा जानकारी गराएका छन्। आफू पत्रकार हो भनी आफ्नो परिचयपत्र स्पष्ट रूपमा देखाइरहँदा पनि दुर्व्यवहार हुनु र धम्कीका भाषाहरू प्रयोग हुनुले आफू निकै दुखित रहेको पत्रकार घिमिरेले बताएका छन्। 

चार वर्षदेखि विवादित अवस्थामा रहेको खानेपानी योजनाका विषयमा गाउँपालिका र अख्तियारमा समेत उजुरी परेको छ। उक्त विषय सार्वजनिक सरोकारको विषय भएकाले आफू समाचार सङ्कलनका लागि त्यहाँ पुगेको उनको भनाई छ। ‘यसरी सुशासन, समुन्नत समाज निर्माणका लागि रातदिन रिपोर्टिङ गरिरहेका पत्रकारहरूमाथि कार्यक्षेत्रमा हुने यस किसिमका दुर्व्यवहारले पत्रकारहरू असुरक्षित हुन्छन्।  यस किसिमका घटना पटक–पटक दोहोरिनु पक्कै पनि कानुनी राज्यमा राम्रो कुरा होइन। यसर्थ यस किसिमका घटना आगामी दिनमा नदोहोरिउन् र दोषी उपर राज्यले आवश्यक छानबिन गरी कारबाहीको दायरामा ल्याओस् भन्ने माग पनि गर्न चाहन्छु।’, घिमिरेले भनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.