|

पर्वत : जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीका ज्ञानप्रसाद रेग्मी राती अबेरसम्म पनि आफूले आलु लगाएको ठूलोखेतमा हुन्छन्। एकै रातमा आलुका ४५ वटा झाल दुम्सीले सखाप पारेपछि खेती बचाउन खेतमा नै बसेर कुर्नुपर्नेसम्मको अवस्था आएको उनी बताउँछन्।

खेतमा मान्छेको जस्तै आकृति देखिने गरेर कपडा वा बोराबाट बनाइने ‘बुख्याचा’ बनाएर राखेको ठाउँमा डरका कारण दुम्सी जाँदैन भनिन्छ। यही कारण रेग्मीले पनि खेतका आलु खेतीको बिच बिचमा बोराका ‘बुख्याचा’ बनाएर राखिदिएका छन्।

‘दुम्सीले आलु, जौ, गहुँ, तोरी लगायतका हिउँदे खेती खाएर हैरान पारेको छ। अस्ति त एकै रातमा ४५ वटा आलुका झाल सोत्तर पारेछ। यसरी नै खाँदै गयो भने त आलु खन्नै पर्दैन, के बाँकी रहन्छ र खन्ने?’ उनले भने, ‘दिउसोको बेलामा आए त कुरेर बस्न हुन्थ्यो, लखेट्न सकिन्थ्यो। रातीको बेलामा आउँछ। न त रातभर जाग्राम बस्न सकिन्छ, न त अरू केही उपाय लाग्छ। बुख्याचा राखेपछि आउँदैन भनेर लौरा गाडेर त्यसैमा बोरा टाँगेको छु। अब के गर्छ हेरौँ।’

ज्ञानप्रसाद जस्तै जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका खगराज अधिकारीले पनि कुश्मा–खरेहा पुल नजिकै रहेको जग्गामा लगाएको जौ खेतीको ठाउँ–ठाउँमा लौरा गाडेर तिनैमा बोरा झुन्डाएका छन्। त्यहाँ खेतीपाती गरेका अरू कृषकहरूले पनि लौरा गाडेर बोरा झुन्ड्याएका छन्।

कोहीले भने प्रयोग गरेर पुराना भएका लत्ताकपडा लगेर टाँगेका छन्। दुम्सीले हिउँदे खेती खाएर बालीमा क्षति गरेपछि अन्तिम उपायको रूपमा ‘बुख्याचा’ को प्रयोग गरिएको हो।
‘जौ उम्रेर अलिकति माथि मात्रै आएको छ। पसाउने त कहिले हो कहिले, अहिले नै बिरुवा काटेर सत्यनास पारेको छ। यो खेतभरि आउँछ, बेलुका हेर्दा ठिकै रहेका जौ गहुँका बिरुवा बिहान हेर्दा काटिएका हुन्छन्। बाक्लो गरी गहुँ छरेको ठाउँ बीउ नै नउम्रेको जस्तो देखिएको छ’, उनले भने, ‘बाँदरले बाली खाएर उस्तै सताएका छन्। बाँदर त बरु दिउँसोमा आउँछ, बाली लगाएकाहरुले पालो गरेर कुर्न गइयो भने पनि लखेट्न सकिन्छ। दुम्सीलाई त के गर्न सकिँदो रहेछ र?’ यही कपडा र बोराले लखेटे बाली बाँच्ने हो। अरू उपाय लागेन।’

यी दुई जना कृषक मात्रै होइन जिल्लाका करिब सबैजसो ठाउँका कृषकहरूको साझा समस्याका रूपमा ‘दुम्सी आतंक’ पनि रहेको छ। बाँदरले बाली खाएर सखाप पारिदिने गरेको बेलामा दुम्सीले पनि बाली नष्ट गरेपछि कृषकहरू चिन्तामा पर्दै आएका छन्। खेतमा बनाइएका ‘बुख्याचा’ का कारण दुम्सीबाट खेती जोगिए खान पाउने आसामा बस्ने कृषकहरू बाँदरबाट खेती जोगाउन समस्या देख्छन्।

गहुँ, जौ लगायतका बालीका बिरुवा टुसाएपछि दुम्सीले खाइदिन्छ। जसोतसो दुम्सीबाट जोगियो भने बाली फुल्न र फल्ने बेलामा बाँदरले खाइदिन्छ। यही समस्याले हैरानीमा परेको कृषकहरूले बताउने गरेका छन्। बाँदर आतंकका कारण खेतबारी नै बाँझो छोड्नुपर्ने अवस्था आएकाले स्थानीय तहहरूले बाँदर नियन्त्रणका लागि केही न केही गरिदिनुपर्ने माग कृषकहरूले राख्दै आएका छन्। तर बाँदर लगायतका अन्य पशुपक्षीको नियन्त्रणको उपाय यही नै हो भन्ने नभएकाले कृषकहरूको माग अनुसार स्थानीय तहले ठ्याक्कै मिल्ने उपाय पाउन पनि सम्भव छैन।

कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बाँदर दुम्सी वा अन्य वन्यजन्तुलाई खेतीपातीबाट बाहिर राख्ने गरी कुनै प्रविधिको विकास नभएको बताउँछिन्। व्यावसायिक रूपमा कृषि गर्दै आएका कृषकहरूले तार, जाली, बार लगाएर दुम्सीको आतंकलाई नियन्त्रणमा राख्ने गरेको भए पनि आफूले किन्नु नपर्ने र सामान्य गुजारा चल्ने हिसाबले खेती गर्नेहरूले भने बार नलगाउने गरेको उनको भनाई छ। बसाइँसराईका कारण बस्ती नजिकैसम्म झाडी तथा बोटबिरुवाहरू हुर्काउने क्रम बढ्दा बन्यजन्तुहरु मानव बस्तीसम्मै आइपुग्दा कृषकहरू समस्यामा परेको थापा बताउँछिन्।

‘बसाइसराइ गरेर गएकाहरूले गाउँमा आफ्नो जग्गामा हुर्केका रुख काट्न मान्दैनन्, झाडी सफा गर्दैनन्। छोडेर गएकाहरूले उत्पादनयोग्य भूमि र घरसम्म नै बिरुवा हुर्काउँदा वन्यजन्तुले बस्तीसम्मै वासस्थान निर्माण गरेका छन्। खेतमा कुरेर बसेर कति पो सम्भव होला?’ उनले भनिन, ‘यसका लागि स्थानीय तहहरूले गर्न सक्ने कामहरू हुन्छन्। झाडी सफा गर्ने, बस्ती नजिकैका रुख बिरुवाहरू हटाउने, उत्पादनयोग्य भूमिको बिचमा रहेका रुख तथा झाडीहरू हटाउने लगायतका काम गर्न सके अलिकति भए पनि त समस्या हल हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.