|

पोखरा : बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन नेपाल क्रिकेट संघ (क्यान) ले आज फुकुवा गरेको छ।  क्यानको पोखरामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

तर क्यानका ७ जना केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेका छन्। केन्द्रीय सदस्यहरू ऋषिराम गौतमसहित दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्वी लामा र धर्मराज गिरीले बहिष्कार गरेका हुन्। 

बलात्कारको आरोपमा सन्दीप पक्राउ परेपछि क्यानले उनलाई निलम्बन गरेको थियो। उच्च अदालत पाटनले उनलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने निर्णय गरेदेखि नै क्यान उनको निलम्बन फुकुवा गर्ने र मैदानमा उतार्ने पक्षमा थियो। तर अदालतले उनलाई बलात्कार मुद्दामा सफाइ दिइसकेको छैन।

सन्दीपलाई बलात्कार मुद्दामा थुनामै राख्नुपर्ने मागसहित मंगलबार नै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएकै दिन क्यानले उनको निलम्बन फुकुवा गरेको हो। 

उच्च अदालतको आदेशविरुद्ध मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको महान्यायाधीवक्ताको कार्यालय श्रोतले जानकारी दिएको छ। महान्यायाधीवक्ताको कार्यालयले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ अनुसार उच्च अदालतको आदेश बदर गर्न माग गरेको छ।

७ केन्द्रीय सदस्यले गरे बैठक बहिष्कार

क्यानका ७ जना केन्द्रीय सदस्यले आज पोखरामा बसेको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन्।

पोखरामा आज क्यानको बैठक शुरु भएकोमा असन्तुष्ट पक्षले कार्यसम्पादन समितिको राजीनामा माग्दै बैठक बहिष्कार गरेका हुन्। उनीहरूले बहिष्कार गरेपछि साँझमात्र बैठक बसेको थियो।

बहिष्कार गरेका सदस्यले कार्यसम्पादन समितिको राजीनामाको माग गर्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्रसमेत बुझाएका छन्।

असन्तुष्ट पक्षले साँझमा पत्रकार सम्मेलन गरेर क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सबीच भएको सम्झौतापश्चात् नेपाली टी–२० लिगमा भएका विभिन्न अवाञ्छित गतिविधिबाट नेपाली क्रिकेटको बदनाम भएको दाबी गरेको छ।

पत्रकार सम्मेलनमा क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले टी–२० लिगलगायतका विषयमा कार्यसम्पादन समितिको बैठकबाट नै सम्पूर्ण निर्णय गरी बोर्डलाई जानकारी नगराइएको र क्यानको बदनाम भई सङ्घ दुर्घटनाको सङ्घारमा पुगेकाले कार्यसम्पादन समिति र गभर्निङ सदस्य जिम्मेवार रहेकाले राजीनामा माग गरी बोर्ड बैठक बहिष्कार गरेको बताए।

उनले भने, ‘राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा क्यानले गम्भीर गल्ती गरेको निष्कर्ष निकाली राखेपलाई क्रिकेट सङ्घ विघटन गर्न सिफारिश गरेको छ। क्यान निलम्बनको खतरा भइरहेको अवस्थामा क्रिकेट सङ्घको साख र मर्यादा बचाउनका लागि सम्पूर्ण निर्णय र काम कारबाही अगाडि बढाउने कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलका सदस्यले राजीनामा दिनुपर्छ भन्ने हाम्रो माग छ।’

असन्तुष्ट पक्षले नेपाल क्रिकेट सङ्घको विघटन र निलम्बनबाट जोगाउन मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

क्यानको कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह तथा सदस्य दुर्गाराज पाठक रहेका छन्।

क्यानको बोर्डमा १७ निर्वाचित र राखेपबाट मनोनीत २ गरी १९ सदस्य रहेकोमा २ पदाधिकारीले यसअघि नै राजीनामा दिइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.