|

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अठोटका साथ स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएको बताएका छन्।

स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गिरीले सीमित स्रोत र साधनका वावजुद आफूहरुले  स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन ल्याउने अठोटका साथ स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएको बताएका हुन्। 

‘हामीले ठूलो परिवर्तन ल्याउने अठोटका साथ यो जिम्मेवारी लिएका छौँ। एकैचोटि सबै समस्या समाधान नहोला। हाम्रो स्रोत र साधनका सीमा छन् तर आम जनताले महसुस गर्नेगरी काम गर्नेछौँ,’ उनले भने, ‘पात्र र प्रवृत्तिदेखि सबै पक्ष नियालिरहेका छौँ, अहिले अध्ययनमै छौँ। स्वास्थ्य क्षेत्रका बेथिति, भ्रष्ट्राचार र अपारदर्शिताविरुद्ध  निर्मम भएर कलम चलाइदिनुभयो भने देशका लागि ठुलो योगदान हुन्, हामी जिम्मेवारीमा छौँ, तपाईहरूले हामीलाई खबरदारी गर्नुपर्छ।’ 

मन्त्री गिरीले स्वास्थ्य क्षेत्रका विकृति र विसङ्गति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्। देशको स्वास्थ्य क्षेत्र विकराल रहेको उल्लेख गर्दै उनले स्वास्थ्य सेवा गरिब जनताको पहुँचमा कसरी पु‍र्‍याउन सकिन्छ भन्ने विषयमा खोज गरेर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे। 

‘नेपालको स्वास्थ्य क्षेत्र विकराल छ, जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन्, यसबारे कलम चलाएर सुधारका लागि केही न केही योगदान गर्छु भन्ने लागेर नै तपाईहरू स्वास्थ्य पत्रकारितामा आउनुभएको होला,’ मन्त्री गिरीले भने, ‘हाम्रो स्वास्थ्य क्षेत्रलाई तमाम गरिब जनताको पहुँचमा कसरी पुर्‍याउन सकिन्छ, गरिबले पनि कसरी गुणस्तरीय सेवा पाउन सक्छन्, यस विषयमा खोज गरेर कलम चलाइदिनुस्, हामी जिम्मेवारीमा रहेका मानिसलाई पनि त्यसबाट फिडब्याक लिएर केही गर्न मार्गदर्शन मिलोस् ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.