|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई बुढो बाघसँग तुलना गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अध्यक्ष ओलीले कांग्रेसले बुढो बाघजसरी सुनको बाला देखाएर अरु दललाई लोभ्याएको आरोप लगाएका हुन्। 

‘एउटा बाघ बुढो भएछ। बुढो बाघले एकजना महिलालाई झम्टेर मारेछ। महिलालाई खाइहाल्यो। उनले सुनका बाला लगाएको रहेछ। बाला त बच्यो। बाघ बाहिरफेर हिँड्न छोड्यो। अगाडि गुफाबाट हिँड्ने मान्छेलाई सुनका बाला देखाउँछ,’ उनले भने, ‘ए नानी यो बाला लैजाऊ न। मलाई के काम र! तिमीलाई कति राम्रो सुहाउँछ हेर त। कोही नजिक गयो भने अलिक फ्याँकी दिनुस् भन्यो भने मान्दो रहेनछ। हातैमा दिन मन छ बा। नजिकै बाला लिन गयो भने च्याप्प पार्छ। साथीहरू बाला देखाइरहनुभएको छ। आफ्नो बारेमा खोजेका छन्। सुनको बाला टिप्न जानेवाला कोही छैन।’ 

अध्यक्ष ओलीले सरकारमा रहेका दलहरूले आफ्नो र देशबारे बुझेको उल्लेख गर्दै भने, ‘ट्राइ योर बेस्ट। सरकारमा रहेका दलहरूले आफ्नो र देशको बारेमा बुझेका छन् र सुनको बाला टिप्न जाने कोही छैन।’

उनले प्रधानमन्त्री, राष्ट्रपतिलगायत पदहरूमा आफूबाहेक अर्को नेतृत्वलाई स्वीकार गर्न नसकेर प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले सरकार गठन भएपछि हठात् सरकारलाई विश्वासको मत दिएको बताए।

‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथिको विश्वास गरेको मान्न सकिँदैन। मतदान गरेको मात्रै भए ठिकै हो। ढोक्सा थापेको हो भने गल्ती हो। ढोक्सा बेलुका थापिन्छ। अँध्यारोमा माछा मार्न खोजिन्छ। पार्न खोजिन्छ। बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फर्कियो। कांग्रेस यस व्यवहारलाई सरकारलाई गरेको व्श्विासको रुपमा मान्न सकिँदैन‚’ ओलीले भने‚ ‘बरु राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचोला खडा गर्ने दुराशय देखिन्छ। उहाँहरूले हामीले ढोक्सा थापेको भन्नु नै भएको छ। ढोक्सा थापेको भन्ने कुराको गज्जबको जवाफ दिनुभयो– प्रचण्डजीलाई हामीले सडकमा पुर्‍याएका थियौं। सडकमा पुर्‍याएको व्यक्तिलाई प्रधानमन्त्रीको पिंजडामा हाल्ने? प्रधानमन्त्री नदिएर सडकमा पुर्‍याएका थियौं प्रचण्डलाई । प्रधानमन्त्री बनाउने भनेर मतिर त आँखैं तर्नुभयो। प्रधानमन्त्रीजस्तो जिम्मेवारी फुक्काफाल हुँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.