|

विराटनगर : बर्खामा ताण्डव मचाएर वारिपारि कुर्लिदै बग्ने सप्तकोशी नदी यतिवेला सुनसान छ। मानौँ कसैको पर्खाइमा वारिपारि आँखा डुलाएर आफ्नै वेगमा बगिरहेको छ।

यो नदीको पनि केही सपना टुटेर छुटेर पहाड छिचोल्दै फुटेको हुनुपर्छ। त्यसैले त वर्षौंदेखि जीवनभर आफ्नै लय हालेर बगिरहेको छ। त्यसो त यो नदीको पनि मौसमपिच्छे आफ्नै कथा र व्यथा छ।

नदीको कथासँग जोडिएको किनारको एकछेउमा उभिएर एक वृद्ध डुङ्गा चढ्न आउने यात्रुको पर्खाइमा आँखा यताउता घुमाइरहेको भेटिए। उनी र सप्तकोशी नदीको साइनो अहिलेदेखिको मात्रै होइन। ऋषिमल्ला माझीको ४ दशकदेखि नदीमा बग्ने पानीसँग साइनो जोडिएको छ।

कहिले उर्लिदो भेलमा नदीले बगाएर ल्याएको दाउरा तान्ने बहानाले त कहिले माछा मार्ने बहानाले उनी पानीसँग नाता जोड्न पुगेकै हुन्छन्। नदीले बस्तीलाई सास्ती मात्रै दिएको छैन, छाक टार्ने जोहो पनि गरिदिएको छ।

बर्खाका वेला पहाडबाट बाढीले बगाएर ल्याएका मुडाहरू नदीबाट तानेर किनार लगाउँदै बेच्ने गर्छन्। जसले ऋषि जस्ता धेरैको घरमा चुलो बलेको छ। हिउँदमा माछा मारेर घर खर्च चलाउने गरेका छन्।

‘यो नदीलाई पनि कहाँ सुख छ र ? बर्खामा हामी बाढीले बगाएर ल्याएको मुडा तान्न आउँछौँ। हिँउदमा यसरी नै माछा मार्न नदीमा आउँछौं’, उनी भन्छन्, ‘दाउरा र माछा बेच्छौँ। यसैले घर खर्च चलेको छ।’

सप्तकोशी नदीमा डुङ्गा चढ्न रहर गर्ने यात्रुलाई केही छिन नदी घुमाउँछन्। त्यसबापत पनि उनीहरूले ज्याला लिन्छन्, एकजना बराबर सय रुपैयाँ। त्यसो त नदी माथि हेलिरहेको डुङ्गामा परिवारको भोक जोहो गर्नेहरू किनारमा थुप्रै भेटिन्छन्।

त्यही किनारमा भेटिएका ३६ वर्षीय दिलमल्ला माझी वर्षौं विदेशी भूमिमा पसिना बेचेर पुनः नेपाल फर्किए। अब उनलाई नेपाल छोडेर विदेश जाने कत्ति पनि रहर छैन। त्यही सप्तकोशी नदीमा उनले परिवारको भविष्य र सपना कुँदेका छन्।

उनी भन्छन्, ‘थुप्रै वर्ष विदेश बसेर आएँ, अब नेपालमै बस्ने हो। यही बाउबाजेले गरेको काम गर्ने हो।’

मौका पर्दा माछा परिहाले दैनिक हजारसम्म कमाइ हुने बताउने उनी कहिलेकाहीँ रित्तै घर फर्किनुपर्ने अवस्था पनि आउने बताउँछन्।

उनीहरू फत्तेपुरबाट कोशी किनारमा पाल टाँगेर बस्छन्। उनीहरूको आ–आफ्नो समूह छ। परिवारभित्रकै सदस्य कोही एउटा डुङ्गा चलाउने, अर्को माछा मार्ने गर्छन्। त्यहीबाट आएको पैसा भाग लगाएर घर खर्च चलाउने गरेको उनीहरू सुनाउँछन्।

कोशी ब्यारेजको छेवैको किनार कुरेर बस्नु ऋषि र दिलमल्लाहरू जस्ताको रहरभन्दा पनि घरगृहस्थी चलाउनैपर्ने बाध्यता रहेको उनीहरू सुनाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.