काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पुँजीबजार लगानीकर्ताको अपेक्षाअनुसार माग सम्बोधन हुन नसकेको लगानीकर्ताहरुले बताएका छन्।
शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा पुँजीबजारमा देखिएको नीतिगत समस्या सुधार हुने अपेक्षा लगानीकर्ताको रहे पनि अपेक्षानुसार नभएको भन्दै उनीहरुले गुनासो गरेका हुन्।
गत आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर मार्जिन धितोकर्जामा लागू भएको ४-१२ करोडको सीमा खारेज हुनुपर्छ भन्ने माग लगानीकर्ताहरुको रहेको थियो। तर चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोडको सीमा खारेज भए पनि १२ करोडको सीमा कायम रहेकाले त्यो पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा हट्ने अपेक्षा भए पनि राष्ट्र बैंकले सम्बोधन नगरेर शेयर लगानीकर्तालाई राष्ट्र बैंकले उपेक्षा गरको आरोप लगाए।
नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष तथा शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले शेयर लगानीकर्ताको माग मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पनि राष्ट्र बैंकले सम्बोधन नगरेर उपेक्षा गरेको बताए।
उनले अर्थतन्त्रमा असहज हुँदा ल्याइएका नीतिहरु अर्थतन्त्रमा कही सहज हुँदा पुनारावलोकन हुन्छ भन्ने आम लगानीकर्ताको अपेक्षा र चासो भए पनि अपेक्षाअनुसार नआएको गुनासो गरे।
उनले नेपालका पुँजीबजारका संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नको लागि राष्ट्र बैंकले कार्यविधि बनाउँदा शेयर लगानीकर्ताको मागलाई सम्बोधन गर्नेमा विश्वास गरेको उल्लेख गरे। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पौडेलले नेपालको शेयर बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको भन्दै व्यक्तिगत लगानीकर्ताको तुलनामा ६ देखि ७ प्रतिशत पनि नरहेकाले सरकारले प्रोत्साहन गर्न आवश्यक रहेको बताए।
उनले ४÷१२ करोडको नीतिले व्यक्तिगत लगानीकर्तालाई त्यस्तो असर नगरेको बताए। उनले अहिले पुँजीबजार न्यून बिन्दुबाट माथिल्लो बिन्दुमा प्रवेश गरिरहेको अवस्थामा र बहुसंख्यक व्यक्तिगत लगानीकर्ता रहेको कारणले शेयर बजारमा प्रभाव नपर्ने बताए।
उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारमा संस्थागत लगानीकर्तालाई केही प्रोत्साहन गरे मात्रै पुँजीबजारको दिगो विकास हुनसक्ने बताए।
उनले भने,‘शेयर लगानीकर्ताहरुको माग राष्ट्र बैंकले सम्बोधन गरेन। अर्थतन्त्रमा असहज हुँदा ल्याइएका नीतिहरु आज केही सहज हुँदा पुनारावलोकन हुन्छ भन्ने आम लगानीकर्ताको अपेक्षा,चासो र हुन्छ नै भन्ने विश्वास पनि थियो। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारमा संस्थागत लगानीकर्तालाई केही प्रोत्साहन गरियोस् भन्ने थियो। यसले दिगो पुँजीबजारको विकासको लागि आरोह अवरोह नहोस् भन्ने हाम्रो चाहना थियो। त्यो भइदिएन।’
त्यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले शेयर लगानीकर्तालाई उपेक्षा गरेको बताइन्। उनले शेयर लगानीकर्ताले ४ वटा माग राख्दासमेत राष्ट्र बैंकले सम्बोधन नगर्नु शेयर बजारप्रति उपेक्षा भएको आरोप लगाइन्।
उनले आफूहरुले राखेको ४÷१२ को नीतिमध्ये ४ हटिसकेको अवस्थामा १२ को क्याप पनि हटाउन माग गर्दै अर्थमन्त्री र गभर्नरलाई भेटेर विशेष आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।