|

चितवन : भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिएपछि सेवाग्राहीको चाप बढेको छ। पछिल्लो समय अस्पतालले सेवा विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो।  

एकै वर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो। अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरंग सेवा लिन आउने जनाइएको छ। ६०० शय्याको यो अस्पताल संघीय अस्पताल हो। चितवनसहित छिमेकी २१ जिल्लाबाट यहाँ बिरामी आउने गर्छन्। 

बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुन्छन्। अस्पतालमा बीमा सुरु भएयता एक अर्बभन्दा बढी रकम अस्पतालले बीमावापत पाइसकेको छ। बीमा सेवा दिनेमा यो देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिन्छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिँदै आएको बताउँछन्।

अस्पतालले गुणस्तरीय सेवासँगै अतिविशिष्ट सेवा पनि सञ्चालनमा ल्याएपछि बिरामीमा आकर्षण बढेको उहाँको दाबी छ। पछिल्लो समय अस्पतालमा बहिरंग सेवा (ओपिडी)को टिकट बिहान ७ः३० बजेदेखि दिउँसो २ बजेसम्म बढाइएको छ। विशेषज्ञ ओपीडी बिहान ९ः३० देखि २ः३० बजेसम्म सञ्चालन हुँदै आएको छ। नेपालका सरकारी अस्पतालमा पहिलोपटक साधारण बहिरङ्ग सेवा (जीओपीडी) सेवा सुरु गरिएको छ। बिहान ८ बजेदेखि सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म चल्दै आएको छ। 

बिरामीको सहजतालाई ध्यानमा राखेर अस्पतालभित्र सोधपुछ कक्ष र फ्रेण्ड्स अफ भरतपुर अस्पतालसँगको समन्वयमा अस्पताल परिसरमा हेल्प डेस्क सञ्चालन गरिएको छ। शल्यक्रिया कक्ष (अपरेसन थिएटर) को संख्या छ वटाबाट बढाएर सात बनाइएको छ। तीमध्ये दुई अस्पताल विकास समितिको बजेटबाट ‘मोडुलर’ शल्यक्रिया कक्ष बनाइएको हो। यो पनि अस्पताललाई अहिले अपुग छ।
 
सौन्दर्यीकरण समिति बनाई अस्पतालमा सरसफाइ र सजावटका काम भइरहेका छन्।  प्रत्येक सोमबार अतिरिक्त सरसफाइ हुँदै आएको छ। सरसफाइमा स्थानीय सामाजिक अभियान्तसमेत जोडिने गरेका छन्। ‘ट्रमा इमर्जेन्सी’ सुरु गरिएको छ। अस्पतालमा ट्रमा म्यानेजमेन्ट सिस्टम प्रभावकारी बनाइएको छ। सी ब्लक भवनमा टरसियरी लेभलको ट्रमा सेन्टर बनाउन काम सुरु भइसकेको छ। यो काम सम्पन्न भएबाट नेशनल ट्रमा सेन्टरपछि नेपालमै दोस्रो सरकारीस्तरको ट्रमा सेन्टर भई दुर्घटनाका बिरामीलाई छिटोछरितो सेवा दिन सकिएको मेसु पौडेलले बताए।

नयाँ भवनमा ५० शय्या क्षमताको आकस्मिक कक्ष सञ्चालन गरिएको छ। जहाँ प्रयोगशाला, माइनर ओटी (सामान्य शल्यक्रिया), एक्सरे, काउन्टर, फार्मेसीलगायतका सुविधा रहेका छन्। मेसु प्राडा पौडेलले भने,  ‘आकस्मिक कक्षमा आएका बिरामी अन्यत्र जान नपर्ने गरी एउटै छानामुनि सबै सुविधा उपलब्ध गराएका छौँ।’

प्रसूति सेवा थप व्यवस्थित गर्न अस्पताल विकास समितिकै खर्चले विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ। प्रसूतिको छुट्टै भवन निर्माण गरी अझ गुणस्तरीय सेवा दिने तयारी भइरहेको छ। हाल प्रसूति विभागमा ठूलो सङ्ख्यामा भर्ना र डिस्चार्ज हुने भएकाले सोही विभागमा छुट्टै काउन्टर सञ्चालन गरिएको छ। उहाँले भन्नुभयो, “प्रसूति सेवाका लागि सबै सुविधा एउटै भवनबाट सहज तरिकाले होस् भनेर काउन्टरलगायतका सुविधा एकै ठाउँबाट दिएका छौँ।’

कोभिड महामारीको समयमा सघन उपचारकक्षमा शय्या अभाव भएपछि थप १० शय्या सघन उपचारकक्ष र पाँच शय्याको एक महिनादेखि १५ वर्षसम्मका बालबालिका राख्ने सघन उपचार कक्ष थप गर्न कार्यक्रम स्वीकृत भई कार्य अगाडि बढेको छ। उनले भने, ‘आठ शय्याको पीआईसीयू र एनआईसीयूलाई १० बाट बढाएर १८ बनाइँदै छ।’
 
दुई वर्षअघि पक्षी प्रयोगशालामा सुरु गरिएको पीसीआर प्रयोगशाला अस्पतालकै नयाँ भवनमा सारेर सेवा नियमित गरिएको छ।  टिकट काउन्टरको भीड कम गर्न काउन्टर सङ्ख्या थप गरिएको र बहिरङ्ग सेवा निःशुल्क गरिएको छ। मेसु डा.पौडेलले भने, ‘टिकट काउन्टरमा भीड कम गर्न अनलाइन टिकट काट्ने व्यवस्था गरेका छौँ।, तर अनलाइनप्रति  चासो कम छ।

सेवालाई अझै गुणस्तरीय बनाउन क्युए(क्वालिटी एस्योरेन्स कमिटी र ड्युटी अफिसर)को व्यवस्था गरी काम अघि बढाइएको छ। छिटो सेवा चाहने बिरामीलाई लक्ष्य गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विस्तारित अस्पताल सेवा कार्यविधिअनुसार छुट्टै भवनमा ‘पेइङ सुपर स्पेसलाइज क्लिनिक’ सञ्चालन गरिएको छ।
 
चिकित्सक, नर्स र प्राविधिकलाई स्वास्थ्य विषयमा अनुसन्धान गर्न प्रेरित गर्ने उद्देश्यले विकास समितिले निर्णय गरी एक वर्षमा १० वटा उत्कृष्ट अनुसन्धानमूलक प्रस्तावलाई समेट्ने व्यवस्था गरिएको छ। शैक्षिक समिति, संस्थागत पुनरावलोकन बोर्ड गठन गरिएको छ। 
 
अस्पताल परिसरमै छुट्टै सरुवा रोग अस्पताल भवनको निर्माण थालिएको छ। फार्मेसीलाई चुस्त बनाई यसलाई बढी सेवामूलक बनाइएको छ। समयमै औषधि आपूर्ति नगर्ने आठवटा सप्लायर्सलाई गत वर्ष कारबाही गरिएको थियो  । प्रसूतिका लागि २४ शय्याको छुट्टै पोस्टअप वार्ड बनाइएको अस्पतालले जनाएको छ।
 
अस्पतालमा हाल सञ्चालनमा रहेका ६०० शय्यामध्ये १५० शय्याका लागि मात्रै सरकारी दरबन्दी छ। अन्य विकास समितिका कर्मचारीमार्फत काम गर्नुपरेको छ। संगठन संरचना प्रतिवेदन बनाइएको र यसबाट भरतपुर अस्पतालका लागि एक हजार ८५ चिकित्सक कर्मचारी थप गर्नुपर्ने भएको छ। हाल  सरकारका एक सय ७५ चिकित्सक कर्मचारीमात्रै कार्यरत छन्। तीमध्ये ४६  चिकित्सक छन्। 

सर्भेक्षण प्रतिवेदन स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयमा पठाइसकेको जनाइएको  छ। पछिल्लो समय अस्पतालले सुधारका महत्वपूर्ण काम गरे पनि निजी ठूला अस्पतालसँग दाँज्दा धेरै कमी–कमजोरी देखिने अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बताए। ‘ओएनएम सर्भेअनुसारका कर्मचारी आउँदै गर्दा अनुभूति हुने गरी सेवा दिन हामी सक्छौँ’, उनले भने, ‘यो राजधानी बाहिरको धेरै बिरामीलाई सेवा दिने सरकारी अस्पताल हो।’
 
अध्यक्ष पौडेलले भने, ‘छ करोड हाराहारी लागतमा पानी ट्याङ्की र १६ करोड हाराहारीको आवास(क्वार्टर) समितिले नै निर्माण गर्ने तयारीमा छौँ।’ अस्पतालमा एनेस्थेसियोलोजिष्ट र शल्यक्रिया कक्षको अभाव हुँदा शल्यक्रियाका लागि लामो समय पालो कुर्नुपर्ने बाध्यता छ। कतिपय बिरामीले सात महिनासम्म पालो कुर्नुपरेको छ। बिरामीको चापअनुसार कर्मचारी र आवश्यक उपकरण नहुँदा बिरामीले दुःख अहिले पनि पाइरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.