|

पर्वत : जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवास्थित रुग्दीका दिवाकर पौडेल बुढेसकालकै कारण नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा जान सक्दैनन्। जान चाहेमा पनि उनको घरबाट स्वास्थ्यचौकी रहेको मुडिकुवामा जानको लागि गाउँबाट सिधा सवारी छैन। टोलमा स्वास्थ्य संस्था नहुँदा बिरामी भएको लक्षण देखिँदा मात्रै बाध्यताले स्वास्थ्य संस्थामा जाने गर्छन् ज्येष्ठ नागरिकहरू।

पाको उमेरतर्फ चढ्दै जाँदा व्यक्तिमा मुटु, रक्तचाप, मधुमेह, ढाड, कम्मर, लगायतका भाग र अङ्गमा समस्या देखिन्छन्। यही वेला नियमित स्वास्थ्य परीक्षण गरेर आफूमा आउँदै गरेका समस्याको समयमै उपचार गर्नुपर्ने हुन्छ। तर नजिकमा स्वास्थ्य संस्था नभएका कारण रोगले नच्यापेसम्म स्वास्थ्य संस्थामा नजाने नागरिकको बानी छ। ज्येष्ठ नागरिकहरू त झन् चाहेर पनि जान नसक्ने अवस्थासम्मका हुन्छन्।

यही समस्याको समाधानका लागि मुडिकुवाले स्वास्थ्यकर्मीहरूलाई नै ज्येष्ठ नागरिकको दैलोमा पठाएर उनीहरूको स्वास्थ्य जाँच गर्ने र आवश्यक परामर्श दिन थालेको छ। ६५ वर्ष उमेर पूरा गरेका वडाभरका सबै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका काम भइरहेको वडाध्यक्ष तथा फलेवास नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले बताए।  

‘घरदैलो स्वास्थ्य जाँच तथा सुगर परीक्षणको काम स्वास्थ्यकर्मीबाट भइरहेको छ। स्वास्थ्यकर्मी ज्येष्ठ नागरिकलाई हौसला प्रदान गर्न हामी जनप्रतिनिधि पनि सँगसँगै हिँडिरहेका छौँ। स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्य आमा समूहका पदाधिकारी, स्वयंसेविकाहरू पनि यसमा हिँड्नुभएको छ’, उनले भने, ‘स्वास्थ्यकर्मीद्वारा घरदैलोमा गई स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमले हिँड्न नसक्ने समस्यामा रहेका ज्येष्ठ नागरिकलाई सहज भएको छ। वेला वेलामा यसरी नै घर घरमा पुग्ने कार्यक्रमलाई निरन्तरता दिनेछौँ।’

मुडिकुवा स्वास्थ्य चौकीमा कार्यरत भई ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणमा हरेक टोल टोलमा पुगिरहेकी अनमि संगीता लामिछानेले गत माघ २३ गतेबाट आफूहरू यो कार्यक्रममा लागिरहेको बताइन्। स्वास्थ्य चौकीमा रहेका पाँचजना स्वास्थ्यकर्मीले तालिका बनाएर केही स्वास्थ्यचौकीमा बस्ने र केही ज्येष्ठ नागरिकको घरमा जाने गरेको उनको भनाइ छ। स्वास्थ्यकर्मीहरूले प्रत्येक ज्येष्ठ नागरिकलाई भेटेर उनीहरूको स्वास्थ्य जाँच गर्नुका साथै उनीहरूले औषधि खाने गरेको भए त्यसको प्रभाव र खाने तरिकाबारे जानकारी लिने, स्वास्थ्य जाँच गर्दा देखिएको अवस्थाबारे जानकारी गराएर थप उपचारको लागि परामर्श दिने, स्वस्थ रहनका लागि अवलम्बन गर्नुपर्ने दैनिक बानीहरूको बारेमा जानकारी दिने लगायतका काम गर्दै आएका छन्।

‘घरमा नै पुगेर उहाँहरूको स्वास्थ्य अवस्थाको बारेमा जाँच गर्दा हामीलाई आशीर्वाद दिनुहुन्छ बुबा आमाहरूले। अस्पताल जान नसकेको, धेरै दिनदेखि रोग सहँदै बसेको, नजिकमा स्वास्थ्य संस्था नहुँदा समस्या भएको लगायतका समस्याहरू उहाँहरूले सुनाउनुहुन्छ’, लामिछाने भन्छिन्, ‘घरमै पुगेर उहाँहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन पाउँदा खुसी लाग्छ। यही काम गर्नका लागि स्वास्थ्य क्षेत्रमा आएको हो। त्यसमा पनि वृद्ध बुबाआमालाई सेवा गर्न पाउनु खुसीको कुरा हो।’

वडाको स्वास्थ्य संस्थामा कर्मचारी नै थोरै भएका कारण तीव्र गतिमा भने सेवा दिन सकिएको छैन। स्वास्थ्यचौकीको सेवालाई समेत निरन्तरता दिनुपर्ने भएकाले पालोअनुसार हरेक टोलमा पुग्ने र कसैलाई पनि नछुटाउने वडाध्यक्ष तिवारी बताउँछन्। अहिलेसम्म करिब दुई सयभन्दा बढीको स्वास्थ्य जाँच गरिसकिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.