यसै साता टोली नेपाल फर्कंने

|

होबार्ट : एन्टार्टिका महादेशबाट नजिकै पर्ने अष्ट्रेलियाली टापु तासमानियामा शुक्रबार बेलुकी अन्तिम प्रस्तुतिसँगै यो वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलावद्ध यात्राको समापन भएको छ।

अष्ट्रेलियाका अन्य प्रान्तीय राजधानीहरुभन्दा शान्त होबार्ट सहरमा ऐतिहासिक महत्वको १ सय ७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो। आफ्नो प्रिय ब्याण्ड नेपथ्यलाई दोस्रोपटक यस सहरमा पाएर रमाएका नेपालीहरुले अधिकांश गीतमा मञ्चका कलाकारलाई साथसाथै गाएर सघाएका थिए।

कार्यक्रममा अन्यत्रजस्तै ब्याण्डको स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’ बाट सुरुगरियो। त्यो गीतबाटै हलभरिका दर्शकले साथसाथै गाएर कन्सर्टको माहोल तताइदिएपछि यो क्रम सिंगो कार्यक्रम अवधिभर जारी रहन पुग्यो।   

अढाइ लाख जनसंख्या पनि नभएको अष्ट्रेलियाकै यो सबैभन्दा शान्त प्रादेशिक राजधानीमा पछिल्लो समय विस्तारै नेपाली संख्या बढ्न थालेको छ।

यतिबेला यो प्रदेशमै अंग्रेजी पछि सबैभन्दा बढी बोलिने दोस्रो भाषा नै नेपाली बन्नपुगेको स्थानीय रेकर्डले दर्शाउँछ।

दोश्रो प्रस्तुतिका रुपमा ‘छेक्यो छेक्यो’ र त्यसपछि पनि क्रमशः ‘भेडाको ऊन’ र ‘लामपाते सुरती’ हुँदै अघि बढेको कन्सर्ट अवधिभर नेपथ्यले उसका पुराना र नयाँ गीतहरु सुनाउँदै गएको थियो।

कन्सर्ट हेर्न आउने दर्शकहरुमा विष्णु सापकोटा पनि थिए। द्वन्द्वकालमा नेपथ्यले ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर गाउँ आउँदा आफू केवल १२ वर्षको रहेको विष्णुले सम्झना गरे।

‘दुवैतर्फका हतियारधारीको चेपमा परेको गाउँले त्यतिबेला झेल्नुपरेको भयावह दिन सम्झँदा पनि डर लाग्छ,’ विष्णु भनिरहेका थिए, ‘त्यतिबेला नेपथ्यकै वलमा हामीले विद्यार्थी क्लब खोलेर स्कुल ब्यूँताउने प्रयास गरेका थियौं।’

यसरी गाउने र मनोरञ्जन दिने मात्र नभएर देश र समाजलाई आइपर्दा जहिले पनि नेपथ्य अगाडि आएको सम्झना विष्णुले गरे।

‘आज मजस्ता नेपालीहरु अष्ट्रेलियामा आएर आफ्नै व्यावसाय गरेर बसेका छौं,’ विष्णुले थपे, ‘अब नेपथ्यका लागि पनि केहि गर्ने हाम्रो दायित्व सम्झेका छौं।’

कन्सर्टका बेला सधैँजस्तै नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

यसवर्ष जारी अष्ट्रेलिया यात्राका दौरान तासमानियाको यो कन्सर्ट श्रृंखलामध्येको आठौं प्रस्तुति थियो। यसअघि डार्बिन, एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी र मेलबर्नमा सफलताका साथ कन्सर्ट सम्पन्न भइसकेका छन्। तासमानियामा अन्तिम प्रस्तुति सम्पन्न भएसँगै ब्याण्ड, प्राविधिक र व्यवस्थापनसहितको १३ सदस्यीय टोली यसै साता मेलबर्न हुँदै स्वदेश फर्कनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.